विराटनगर । नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोसी प्रदेशमा सरकार विस्तारको तयारी तीव्र पारिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबारभित्रै नयाँ मन्त्रिमण्डल गठन गर्ने योजना बनाएका हुन् ।
केन्द्रमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको मन्त्रालय बाँडफाँटको सहमतिअनुसार मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमालेले र बाँकी चार मन्त्रालय नेकपाले पाउने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलका अनुसार केन्द्रको सहमतिबमोजिम नै नयाँ मन्त्रीहरूको नियुक्ति गरिनेछ । नयाँ सत्ता समीकरण बनेपछि १५ दिनभित्र मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने सहमति भइसकेको छ ।
नेकपामा नेतृत्वको रस्साकस्सी
सरकारमा सहभागी हुने तयारी भए पनि नेकपाभित्र कसको नेतृत्वमा मन्त्रिमण्डलमा जाने भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।
यसअघि पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको नेतृत्व गर्न सक्ने बताएका थिए । तर, आङ्बो स्वयंले सामाजिक सञ्जालमार्फत आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् । आङ्बोको अनिच्छापछि पूर्वमन्त्री जीवन आचार्य सरकारमा नेतृत्व गर्ने मुख्य दावेदारका रूपमा देखिएका छन् ।
मन्त्री चयनका लागि शनिबार बसेको नेकपा संसदीय दलको बैठक निर्णयविहीन टुङ्गिएको छ । बैठकमा नयाँ अनुहारलाई अवसर दिनुपर्ने तथा समावेशी र भौगोलिक सन्तुलन मिलाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
नेकपाबाट पुराना अनुहारतर्फ जीवन आचार्य, दुर्गा चापागाईं र बाबुराम गौतम मन्त्रीका आकांक्षी छन् । त्यसैगरी नयाँ अनुहारबाट गीता तिम्सिना, राजन किराँती, गोम्बु शेर्पा, सपना दर्जी, विद्या चाम्लिङ र खिनु लङ्वा लिम्बू दौडमा छन् । पार्टीको प्रदेश कमिटी र संसदीय दलको संयुक्त बैठकले मन्त्रीको टुंगो लगाउने जनाइएको छ ।
सिट सङ्ख्याका आधारमा मन्त्रालय बाँडफाँट
एमाले र नेकपा शीर्ष नेतृत्व (केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’) बीच साउन ९ गते भएको सहमतिअनुसार पाँचबुँदे कार्यविधि तयार गरी प्रदेशमा सर्कुलर गरिसकिएको छ ।
सहमतिअनुसार दलहरूको सिट सङ्ख्याको आधारमा मन्त्रालयको अनुपात मिलाइनेछ भने मन्त्रालय छनोट र बाँडफाँट पालोप्रथाका आधारमा गरिनेछ । मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्न पाउने व्यवस्था गरिएको छ ।
