विराटनगर । तोकिएको भन्दा कम ग्यास भरेको र म्याद गुज्रिएका सिलिन्डर बजार पठाउन खोजेको भेटिएपछि मोरङको बुढीगंगास्थित ‘रिजालको भान्सा ग्यास उद्योग प्रालि’ कारबाहीमा परेको छ।
उपभोक्ता हितविपरीत कार्य गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गराएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन र गुणस्तर तथा नापतौल कार्यालयको टोलीले उद्योग परिसरमा रहेका भरिएका १९ वटा सिलिन्डरको तौल परीक्षण गरेको थियो।
सो क्रममा एउटा सिलिन्डरमा तोकिएको भन्दा २४० ग्राम कम ग्यास फेला परेको थियो भने म्याद गुज्रिएका दुई वटा सिलिन्डरमा ग्यास भरेर बजार पठाउन लागिएको भेटिएको थियो।
यसैबीच, अनुगमन कार्यमा अवरोध पुर्याएको भन्दै विराटनगर–३ स्थित ‘कञ्चनेश्वर ग्यास पसल’लाई पनि १५ हजार रुपैयाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
