विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाका सवालमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लुमा आयोजित कार्यक्रममा पार्टीका कार्यकर्ता तथा विभिन्न संघ–संस्थासँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा युवालाई रोजगारीका अवसर उपलब्ध गराउने तथा देशमै केही गर्न सक्ने वातावरण निर्माण गर्न राज्यका विभिन्न निकायबाट आवश्यक पहल र नीति निर्माणका विषयमा छलफल गरिएको थियो।
रास्वपा कोशी प्रदेश उपसभापति होमराज दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योगी राजेन्द्र राउतलगायत विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूसँग युवाका लागि नयाँ योजना, रोजगारीका अवसर र उद्यमशीलताको सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा उनीहरूको क्षमता र सीपलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने विषयमा जोड दिइएको थियो।
