विराटनगर । जाहदा गाउँपालिका–५ निवासी मनोजकुमार साहले आफूलाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरिएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
साहले पत्रकार सम्मेलन मार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सोही वडाका दिपेन्द्र साहले लक्ष्मीनिया–मझारेको प्रहरी इन्चार्ज र हवल्दारको रोहवरमा आफूलाई अचानक बिना जानकारी नियन्त्रणमा लिएको आरोप लगाएका छन्।
उनका अनुसार हात पछाडि लगेर नाइलनको डोरीले बाँध्नुका साथै खुट्टासमेत बाँधेर घिसार्दै लगिएको थियो। त्यसपछि मुखमा थुक्न लगाई डन बोस्को स्कुलको गेटको अगाडि, पूर्वमा रहेको आफ्नो स्वास्थ्य उपचार केन्द्रबाट समेत कुनै जानकारी नदिई लगिएको साहको दाबी छ।
त्यसपछि रितादेवी साह, निजको छोरा अभिषेक कुमार साह, जाहदा–२ हरिनगरमा बस्ने सत्यनारायण साह, उनकी दिदी जाहदा–५ निवासी रितादेवी साह, सुरज कुमार महतो तथा छुतहरू महतोको बोलाउने नामलगायतका व्यक्तिहरूले आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको साहले आरोप लगाएका छन्।
आक्रमणका क्रममा आफूलाई बेइज्जत गर्नुका साथै अश्लील गालीगलौज गर्दै कुटपिट गरिएको उनको दाबी छ।
साहले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत कानुनी कारबाही गरी न्याय दिलाउन सम्बन्धित निकायसमक्ष अपिल गरेका छन्।

