विराटनगर । गर्भवती आमाहरूको स्वास्थ्य तथा पोषणमा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ विराटनगर शुभमले गर्भवती महिला पोषण आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
लायन्स क्लब अफ विराटनगर शुभमको आयोजनामा कटहरी–१, मोरङस्थित चौधरी चोकमा २६ श्रावण २०८३ (११ अगस्ट २०२६) मा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पोषण आहार वितरण गरिएको हो। गर्भावस्थामा पोषणको महत्वलाई आत्मसात् गर्दै आमा र गर्भमा हुर्किरहेको शिशुको स्वास्थ्यप्रति सहयोग र संवेदनशीलता अभिव्यक्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो।
‘सेवा नै मानवताको सर्वोच्च धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको कार्यक्रममा स्वास्थ्य स्वयंसेवक सुकुमाया चौधरीको सहयोग रहेको थियो भने लायन पुष्पलता कोइराला कार्यक्रम संयोजक रहनुभएको थियो।
लायन्स क्लब अफ विराटनगर शुभमकी अध्यक्ष लायन शारदा दाहालको नेतृत्वमा सम्पन्न कार्यक्रमले गर्भवती आमाको स्वास्थ्यप्रति सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
