नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रममा संसद् नियमावली उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री र रास्वपा सभापतिले उक्त प्रावधानको पालना नगरेको बताए।
उनले बैठकमा राप्रपा सांसद खुश्बु ओली मन्तव्य राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बोलिरहेका सदस्य र सभामुखको आसनबीचबाट प्रवेश गरेको दाबी गरे।
‘प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) अनुसार सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न पाइँदैन,’ महरले भने, ‘तर माननीय खुश्बु ओली बोलिरहेकै बेला सम्माननीय प्रधानमन्त्री र सत्तापक्षका सभापति उक्त व्यवस्था विपरीत हिँड्नुभएको छ। यस विषयमा मेरो नियमापत्ति छ र सभामुखबाट रुलिङको माग गर्दछु।’
प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्दा राप्रपा सांसद खुश्बु ओली आफ्नो धारणा प्रस्तुत गरिरहेकी थिइन्। एमालेले उक्त घटनालाई संसदीय मर्यादा र नियमावली विपरीत भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।
