इरान । अमेरिकाले फेरि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।
आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “भारी क्षति पुर्याउने” चेतावनी दिएका थिए । ट्रम्पले यी आक्रमणहरू “इरानले होर्मुज जलडमरूमध्यमा जहाजहरूमा गरेको बमबारीको जवाफ” भएको बताएका छन् ।
उनले यस्तो घटना पुनः दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार देशका दक्षिणी तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ भने फारसको खाडीमा इरानको नियन्त्रणमा रहेका केही टापुहरूलाई निशाना बनाइएको छ ।
इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अमेरिकाले धम्की र वाचा उल्लङ्घनको मूल्य चुकाउनुपर्ने कुरा अझै नबुझेको बताएका छन् । उनले आक्रमण भए त्यसको जवाफी आक्रमण पनि भोग्नुपर्ने चेतावनी दिएका छन् ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीन वटा व्यावसायिक जहाजलाई निशाना बनाएको थियो र त्यसकै जवाफमा अमेरिकाले आक्रमण गरेको हो ।
उता इरानले भने अमेरिकी आक्रमणको जवाफस्वरूप बुधबार बिहानै बहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी हमला गरेको जनाएको छ ।
यसैबीच ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अब्बास अराघची ले “हामी अभद्रताको जवाफ अभद्रताले होइन, साहसपूर्ण कार्यबाट दिन्छौँ” बताएका छन् ।


