काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (असार २२)देखि आफ्नो सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ।
काठमाडौंको चुनदेवीस्थित भाडाको भवनमा स्थापना गरिएको कार्यालयबाट समूहका गतिविधि सञ्चालन गरिनेछ।
नेता प्रकाशशरण महतका अनुसार कार्यालयको रङरोगन तथा अन्य तयारी पूरा भएपछि आज दिउँसो २ बजेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। उनले दिउँसो १ बजेदेखि नेताहरू कार्यालयमा भेला हुने जानकारी दिए।
कार्यालय सञ्चालनसँगै संस्थापनइतर समूहको विस्तारित बैठक पनि बस्नेछ। महतका अनुसार काठमाडौंमा उपलब्ध नेताहरूबीच प्रारम्भिक छलफल हुनेछ भने बाहिर रहेका नेताहरू आएपछि थप परामर्शलाई निरन्तरता दिइनेछ।
इतर समूहले विस्तारित बैठकपछि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत गरेको छ। तर, त्यसअघि नै आफूहरूले उठाएका मागका विषयमा संस्थापन पक्षले गम्भीर छलफल अघि बढाउनुपर्ने समूहको धारणा छ।
पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। संस्थापन पक्षले विधानका कारण इतर समूहका माग तत्काल सम्बोधन गर्न कठिन रहेको बताउँदै आएको छ।
यता, संस्थापनइतर समूहले भने आफूहरूले उठाएका मागप्रति सभापति गगन थापा पर्याप्त गम्भीर नदेखिएको आरोप लगाउँदै आएको छ।


