विराटनगर । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि सवारीसाधनका झ्यालमा जडान गरिएका कालो सन फिल्म हटाउने अभियान देशभर तीव्र बनाइएको छ। सोही अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले पनि सडकमा अनुगमनलाई कडाइ गर्दै कालो सन फिल्म लगाइएका सवारीसाधनमाथि कारबाही सुरु गरेको छ।
अभियानको सुरुवात स्वयं गृहमन्त्री गुरुङले आफ्नो सरकारी सवारीसाधनमा लगाइएको कालो सन फिल्म हटाएर गरेका थिए। त्यसपछि गृह मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्रीको सवारीसाधनबाहेक अन्य सरकारी तथा निजी सवारीमा नियमविपरीत जडान गरिएका काला सन फिल्म हटाउन निर्देशन दिएको हो।
निर्देशनसँगै मोरङ ट्राफिक प्रहरीले विराटनगरलगायत विभिन्न स्थानमा सवारी जाँचलाई तीव्र बनाएको छ। बुधबार विराटनगरको रोडशेष चोक दक्षिण क्षेत्रमा गरिएको विशेष जाँचका क्रममा एक दर्जनभन्दा बढी सवारीसाधनबाट कालो सन फिल्म हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार बाहिरबाट हेर्दा सवारीभित्र के भइरहेको छ भन्ने नदेखिने गरी झ्यालमा लगाइने कालो सन फिल्मले सुरक्षा चुनौती बढाउने गरेको छ। यस्ता फिल्मको प्रयोगबाट लागूऔषध ओसारपसार, तस्करी, आपराधिक गतिविधि तथा अन्य गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूले फाइदा उठाउने गरेको सुरक्षा निकायको निष्कर्ष छ। त्यसैले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको हो।
मोरङ ट्राफिक प्रहरीले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनमा समेत कालो सन फिल्म भेटिए पहिलो चरणमा हटाउन निर्देशन दिने जनाएको छ। अटेर गरेमा नियमअनुसार जरिवाना गर्नुका साथै प्रहरीले आफैं फिल्म हटाउने चेतावनी दिएको छ।
ट्राफिक प्रहरीले सवारीधनीलाई समयमै आफ्ना सवारीसाधनमा लगाइएका नियमविपरीतका काला सन फिल्म हटाउन आग्रह गरेको छ। यदि तपाईंको सवारीसाधनको झ्याल बाहिरबाट हेर्दा भित्र स्पष्ट देखिँदैन भने सचेत हुनुहोस्। सडकमा जुनसुकै समयमा ट्राफिक प्रहरीले सवारी रोकी कालो सन फिल्म हटाउन लगाउन सक्छ र प्रचलित कानुनबमोजिम जरिवाना पनि हुन सक्छ।
ट्राफिक प्रहरीको सन्देश स्पष्ट छ— सवारीसाधनमा नियमविपरीत जडान गरिएको कालो सन फिल्म हटाउनुहोस्, अन्यथा कारबाहीका लागि तयार रहनुहोस्। सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले कानुनको पालना गर्न प्रहरीले सबै सवारीधनीलाई अनुरोध गरेको छ।


