चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशा स्पष्ट पार्ने प्रयास गरे पनि संघीयताबारे भने नेतृत्व तहकै फरक धारणाका कारण अन्योल कायम रहेको देखिएको छ। पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले ले प्रस्तुत गरेका दस्तावेजमा संघीयताको भविष्यबारे फरक–फरक दृष्टिकोण राखेपछि पार्टीभित्र मतैक्यता अभाव देखिएको हो।
लामिछानेले आफ्नो राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, पूर्ण समानुपातिक निर्वाचन व्यवस्था तथा राष्ट्रिय सभाको पुनःपरिकल्पनासँगै प्रदेशसभा र प्रदेश सरकारको पुनःसंरचनाको पक्षमा रहेको उल्लेख गरेका छन्। तर, विद्यमान संघीय व्यवस्थालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे स्पष्ट योजना वा मार्गचित्र प्रस्तुत गरिएको छैन।
उता वाग्लेले आफ्नो अर्थ–राजनीतिक दस्तावेजमा प्रदेशसभा खारेजीसहित संघीयताको पुनःसंरचनाको प्रस्ताव अघि सारेका छन्। उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने व्यवस्था, स्थानीय तहको संरचनामा कटौती तथा प्रदेशसभाको खारेजीजस्ता विषयलाई पार्टीको दीर्घकालीन एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्।
प्रदेशसभा खारेजीको विषयमा वाग्लेले विगतमा विभिन्न समयमा फरक–फरक अभिव्यक्ति दिएका छन्। एक वर्षअघि उनले प्रदेशसभालाई ठूला दलहरूको ‘कार्यकर्ता व्यवस्थापन केन्द्र’ भन्दै अवसर मिले खारेज गर्ने बताएका थिए। पछिल्ला वक्तव्यहरूमा भने संघीय संरचना कायम राखेर प्रदेशसभाको आमूल पुनर्गठन आवश्यक रहेको धारणा राख्दै आएका छन्।
रास्वपाको चुनावी घोषणापत्रमा पनि वर्तमान संघीय अभ्यासलाई ‘अधुरो’ र सुधार आवश्यक रहेको उल्लेख गरिएको थियो। पार्टीले संविधान संशोधनका विषयमा राष्ट्रिय बहस चलाउने प्रतिबद्धता व्यक्त गरे पनि संघीयताको स्वरूपबारे स्पष्ट निष्कर्षमा पुग्न सकेको देखिएको छैन।
राजनीतिक विश्लेषकहरूको भनाइमा, संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधान प्रस्तुत गर्नुको सट्टा रास्वपाले पुनःसंरचना र खारेजीबीचको अस्पष्ट बहसलाई अघि बढाएको छ। उनीहरूका अनुसार प्रदेशलाई अधिकार हस्तान्तरण, प्रहरी तथा निजामती सेवाको समायोजनजस्ता मूल समस्याबारे स्पष्ट धारणा नआएकाले पार्टीको संघीयताप्रतिको वास्तविक दृष्टिकोण अझै अस्पष्ट रहेको छ।
चितवन महाधिवेशनले संघीयता सम्बन्धी बहसलाई थप तीव्र बनाएको भए पनि रास्वपाको आधिकारिक र एकीकृत धारणा भने अझै स्पष्ट हुन बाँकी रहेको देखिन्छ।


