विराटनगर । सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विराटनगर–५ मा रहेको एभरेष्ट एजुकेशन फाउण्डेसनले न्यू एभरेष्ट कलेज मार्फत काठमाडौं विश्वविद्यालय (केयू) को सम्बन्धनमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कलेज व्यवस्थापनले सूचना प्रविधिको क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ बीआईटी अध्यापन सुरु गरिएको जानकारी दिएको हो।
कलेजका प्रबन्ध निर्देशक टीकाराम पुरी ले सूचना प्रविधिसम्बन्धी उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू काठमाडौं वा विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न सकिने बताए। उनले बीआईटी अध्ययनले विद्यार्थीलाई स्वदेशमै करियर निर्माण गर्न तथा विदेशमा समेत प्रतिस्पर्धात्मक रूपमा रोजगारी प्राप्त गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।
चार वर्षे अर्थात् आठ सेमेस्टरको बीआईटी कार्यक्रमअन्तर्गत तेस्रो सेमेस्टरपछि विद्यार्थीलाई रोजगारसँग जोड्ने गरी जब प्लेसमेन्ट को व्यवस्था गरिएको कलेजले जनाएको छ। अध्ययन पूरा गर्न करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने भए पनि जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई विशेष छात्रवृत्ति र शुल्क छुटको व्यवस्था गरिएको जानकारी दिइयो।
पहिलो शैक्षिक सत्रका लागि ३० जना विद्यार्थीको भर्ना लिइनेछ। भर्ना प्रक्रियाका लागि असार ५ गतेदेखि २५ गतेसम्म दर्ता खुला रहने कलेजले जनाएको छ।
बीआईटी कार्यक्रमका समन्वयक केशव भण्डारी का अनुसार उक्त विषय अध्ययन पूरा गरेका विद्यार्थीले आफ्नै सूचना प्रविधि कम्पनी स्थापना गरी स्वरोजगार बन्न सक्ने तथा अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्ने अवसर प्राप्त गर्नेछन्।
यसैबीच, हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा ३.८१ जीपीएभन्दा माथि प्राप्त गर्ने ११ जना विद्यार्थीलाई कलेजले सम्मान गरेको छ। सम्मानित विद्यार्थीलाई प्रबन्ध निर्देशक पुरीले टीका, माला तथा नगद पुरस्कार प्रदान गरेका थिए।
सम्मानित हुने विद्यार्थीहरूमा नेहा मण्डल (३.९१), राजुकुमार साह (३.९०), प्रश्ना श्रेष्ठ (३.८८), आकाश श्रेष्ठ, आयोगकुमार सिंह र राहुल राजवंशी (३.८६), राज गौतम र श्रेयान उपाध्याय काफ्ले (३.८५), राज पोखरेल (३.८३), सतिस आचार्य (३.८२) तथा आदित पौडेल (३.८१) रहेका छन्।


