विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा, खानेपानी तथा सिँचाइ क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले ऊर्जा तथा जलस्रोतको विकास, खानेपानी सेवाको विस्तार र सिँचाइ पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको जानकारी दिए।
वन व्यवस्थापनतर्फ स्वदेशी काठको बजारीकरणलाई प्रोत्साहन गरिने सरकारले जनाएको छ। साथै, भूक्षय नियन्त्रणका लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने तथा चुरे क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री लिङ्थेपले बताए।
नदी कटान तथा बाढीजन्य जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माणमा १८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले प्राकृतिक स्रोतको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ।
