गोरखा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले पार्टी छाडेर अवसरको खोजीमा जानेहरूलाई धेरै फकाउन आवश्यक नरहेको बताएका छन्। उनले कांग्रेसले नेताभन्दा पनि जनतासँगको सम्बन्ध सुधार्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।
गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी कमजोर भएको आकलन गरेर अन्यत्र अवसर खोज्नेहरूलाई रोक्न अनावश्यक प्रयास नगर्न कार्यकर्तालाई आग्रह गरे।
उनले भने, “अहिले पार्टी अलि कमजोर देखियो भनेर कतिपय मानिस अवसरको खोजीमा यताउता दौडिन सक्छन्। त्यस्ता मानिसलाई धेरै फकाउनेतिर लाग्न आवश्यक छैन। पद र अवसरका लागि पार्टी छाड्न खोज्नेहरूलाई जान दिनुपर्छ।”
थापाले कांग्रेसभित्र देखिएका कमजोरी र विकृतिलाई सुधार्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीलाई विचार, नीति र व्यवहारका हिसाबले सुदृढ बनाउनुपर्ने बताए। विगतमा गठबन्धन राजनीतिका कारण कांग्रेसको राजनीतिक आधार कमजोर बनेको उल्लेख गर्दै उनले त्यसलाई सुधार्नुपर्नेमा जोड दिए।
उनले कांग्रेसले सत्ता केन्द्रित सोचबाट बाहिर निस्केर जनताकेन्द्रित राजनीति गर्नुपर्ने बताए। “सत्ता-सत्ता-सत्ता भन्ने प्रवृत्तिको सट्टा जनता-जनता-जनता भन्ने राजनीति गर्नुपर्छ। पार्टीको विचार र दृष्टिकोण स्पष्ट बनाएर अघि बढ्न सके कांग्रेसप्रति आकर्षण स्वतः बढ्छ,” उनले भने।
थापाले अब कांग्रेसको मुख्य लक्ष्य नेताहरूलाई मिलाउने नभई पार्टी र जनताबीचको दूरी घटाउने हुनुपर्ने बताए। उनले पार्टीसँग असन्तुष्ट नागरिकको विश्वास व्यवहारबाट जित्नुपर्ने उल्लेख गर्दै त्यसतर्फ कांग्रेसले प्राथमिकताका साथ काम गर्ने बताए।
