Premier Cables
Premier Steel

विराटनगर

वातावरण संरक्षणमा योगदान गर्ने दुई संस्थालाई विराटनगर महानगरको सम्मान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तन न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका दुई संस्थालाई सम्मान गरेको छ।

शुक्रबार महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना फैलाउने, वृक्षारोपण अभियान सञ्चालन गर्ने तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि अघि बढाउँदै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो।

बिज्ञापन

महानगरका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला र सम्मानपत्र प्रदान गर्दै वातावरण संरक्षणमा उनीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जलवायु परिवर्तन र वातावरणीय संकट विश्वव्यापी चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिकको साझा प्रयास आवश्यक रहेको बताए। उनले बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम बढ्दै गएको भन्दै वृक्षारोपणलाई जनअभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भविष्यका पुस्तालाई स्वच्छ हावा र सुरक्षित वातावरण प्रदान गर्न सक्छ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई स्वच्छ, व्यवस्थित र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास योजनासँग जोडेर अघि बढाइने उनले उल्लेख गरे।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। जलवायु परिवर्तनका असर न्यूनीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण बन्दै गएको उनको भनाइ थियो।

यसअघि विश्व वातावरण दिवसकै अवसरमा विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी निकालिएको थियो। फोहोर व्यवस्थापन, वृक्षारोपण, वातावरणमैत्री जीवनशैली र जलवायु सचेतनासम्बन्धी सन्देश बोकेको प्रभातफेरीले वातावरणीय मुद्दाप्रति नागरिकको ध्यानाकर्षण गराएको थियो।

कार्यक्रममा सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण वातावरण संरक्षण अभियन्ता पूजा विश्वासले गरेकी थिइन्।

महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण र दिगो शहरी विकासलाई आगामी दिनमा थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka