काठमाडौं । व्यंग्यात्मक डिजिटल अभियानका रूपमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को एक्स (पूर्व ट्विटर) अकाउन्ट भारतमा रोक लगाइएको छ। इन्स्टाग्राममा भारतीय जनता पार्टी (भाजपा) लाई फलोअर सङ्ख्यामा उछिनेको केही घण्टामै यसको एक्स अकाउन्ट ब्लक गरिएको हो।
सीजेपीले इन्स्टाग्राममा १ करोड १७ लाखभन्दा बढी फलोअर पुर्याएको छ भने भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टमा करिब ८७ लाख फलोअर रहेका छन्। सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको यो अभियानको एक्स अकाउन्ट बिहीबार भारतमा बन्द गरिएको बताइएको छ।
पार्टीका संस्थापक अभिजीत दीपके ले भारतमा अकाउन्ट ब्लक भएको स्क्रिनसट सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन्। उनले प्रतिक्रिया दिँदै लेखेका छन्, “अपेक्षा गरेजस्तै, कक्रोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ।”
केही दिनअघि मात्र अनलाइन व्यंग्य आन्दोलनका रूपमा सुरु भएको सीजेपी अहिले बेरोजगारी, परीक्षा प्रश्नपत्र चुहावट, राजनीतिक असन्तुष्टि र संस्थागत जवाफदेहिताको विषयलाई केन्द्रमा राख्दै ठूलो डिजिटल अभियानमा परिणत भएको छ।
हास्य, मिम र राजनीतिक सन्देशलाई मिश्रण गर्दै अघि बढेको यो अभियानले छोटो समयमै युवाहरूको व्यापक समर्थन बटुल्न सफल भएको छ। विशेषगरी सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ताले यसलाई आफ्नो असन्तुष्टि व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।
‘कक्रोच जनता पार्टी’ नामको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्यकान्त ले अदालतको सुनुवाइका क्रममा दिएको विवादास्पद अभिव्यक्तिपछि भएको हो। उनले केही बेरोजगार युवा र अनलाइन अभियन्तालाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना र आक्रोश फैलिएको थियो।
