बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ बेइजिङ पुग्ने भएका छन् । इरान युद्ध, व्यापार, ऊर्जा तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनको उच्चस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ ।
ह्वाइट हाउसकी प्रमुख उप-प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान औपचारिक स्वागतपछि दुई नेताबीच मुख्य बैठक हुनेछ । ट्रम्पको चीन भ्रमण शुक्रबार सकिने जनाइएको छ । अमेरिकाले यसै वर्षभित्र चिनियाँ राष्ट्रपति सीलाई पनि भ्रमणका लागि वासिङ्टन निम्त्याउने तयारी गरेको छ ।
केलीले यो भ्रमणलाई प्रतीकात्मक रूपमा अत्यन्त महत्त्वपूर्ण भन्दै चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने, निष्पक्ष व्यापारलाई प्राथमिकता दिने र अमेरिकी आर्थिक हितलाई मजबुत बनाउने उद्देश्य रहेको बताएकी छन् । यसअघि मार्च महिनामै तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीचको तनावका कारण स्थगित भएको थियो ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्पले वार्ताका क्रममा इरानको तेल कारोबार र दोहोरो प्रयोजनमा प्रयोग हुने सामग्रीको खरिदबारे चीनमाथि दबाब बढाउन सक्नेछन् । गत साता अमेरिकी अर्थ सचिव स्कट बेसेन्टले चीनले इरानको ९० प्रतिशत ऊर्जा खरिद गर्दै आर्थिक सहयोग गरिरहेको आरोप लगाएका थिए ।
इरानले अमेरिका र इजरायलको आक्रमणपछि विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्य बन्द गरेपछि विश्व अर्थतन्त्रमा असर परेको छ । विशेषगरी पश्चिम एसियाबाट ऊर्जा आयातमा निर्भर एसियाली मुलुकहरू बढी प्रभावित भएका छन् ।
चीनले भने युद्धको अन्त्य चाहेको बताउँदै हालै इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई बेइजिङमा स्वागत गरेको थियो । साथै, इरानको तेल क्षेत्रमा अमेरिकाले लगाएको एकपक्षीय प्रतिबन्धलाई चीनले मान्यता नदिने अडान दोहोर्याउँदै आएको छ ।
दुई नेताबीच हुने वार्तामा रुसलाई चीनले गरिरहेको समर्थन, व्यापार असन्तुलन तथा दुर्लभ खनिज पदार्थको विषय पनि उठ्ने अपेक्षा गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलमा विमान निर्माता कम्पनी र केही कृषि कम्पनीका प्रमुख कार्यकारीहरू पनि सहभागी हुनेछन् ।
ताइवानको विषयमा भने अमेरिकाको नीति यथावत् रहने संकेत दिइएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको भए पनि अमेरिकाले त्यहाँ सुरक्षा र आर्थिक सहयोगलाई निरन्तरता दिँदै आएको छ ।
