






Image: HamroBiratnagar Graphics
विराटनगर । नेपाल सरकारका पूर्व कर्मचारी प्रेम प्रसाद सञ्जेलले यति एयरलाइन्सका कर्मचारीले आफ्नो कार्गो सामान फुटाई दिएको आरोप लगाएका छन् ।
उनी अवकासमा जानुअघि कोसी प्रदेश निर्वाचन कार्यालय र श्रम कार्यालय विराटनगरको प्रमुखकको रुपमा कार्यरत थिए । सञ्जेल सरकार र नीति निर्माणको विषयमा टिका टिप्पणी गरेर सामाजिक सञ्जालमा छाई रहने पूर्व प्रशासकका रुपमा पनि परिचित छन् । कतिपय युट्युबरलाई साथै लिएर हिंड्छन् ।
यति एयरलाइन्सका कर्मचारीले यात्रुका सरसामान निकालेर लैजाने गरेको सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आरोप लगाएका छन् । विदेशबाट आउने नेपालीहरुको सरसामान समेत विमानस्थलबाट हराउने गरेको उनको जिकिर छ । आफूले जेठ १० गते शनिबार विराटनगरबाट काठमाडौ कार्गो गरी पठाउँदा कार्टुन उध्रिएको अवस्थामा फेला परेको बताए ।
उनले भने, ‘मेरो सामान खोलिएको थियो । मैले यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुवँरसँग सम्पर्क गरेँ तर उहाँले अस्वीकार गर्नुभयो । सामान थिचिएर खुलेको हुनसक्ने बताउनु भयो । तर, पछि गल्ती भएको भनेर माफी माग्नु भयो ।’ कार्टुनमा ५० हजार मूल्य बराबरकाे सामान राहेकाे उनले सुनाए ।
अहिलेको सरकारप्रति जनताको खासै भरोसा नभएको भन्दै सरकारी कामको बेथिति जुनै पनि सरकारी कार्यालयमा देख्न सकिने आरोप लगाए । हालका प्रधानमन्त्री केपी ओलीले आफू पनि भ्रष्टाचार गर्न नदिने र नगर्ने भनेपनि ओलीको पालामा जति भ्रष्टाचार कहिल्यै नभएको जिकिर गरे ।
यति एयरलाइन्सको विराटनगर कार्यालयले १४ किलो कार्गो पठाएको जानकारी दिएको छ । यतिका विराटनगरस्थित स्टेशन म्यानेजर प्रेम कुवँरले दुईवटा पोका रहेको बताए । कुवँरले यसो भने -पानी हाल्ने कार्टुन रहेछ । तारले बाँधेको रहेछ । त्यो दिन जहाज अलि ढिलो भयो । काठमाडौ पुग्यो । सीसी क्यामेरामा पनि हेर्न सकिन्छ । सामान खोल्ने कुरा भएन । अपलोड भयो । माथिको भारले तलको कार्टुन फुटेको हुनसक्छ । काठमाडौमा भेलिपल्ट लिन आउँदा पाकेट फुटेको रहेछ भन्नुभयो । सामान चेक गर्न भन्यौ । सामान सही सलामत छ भन्नुभयो । सामान बुझ्नु भयो । झिकेर हालो भनेर लगाएको आरोप गलत हो । अलिकति फुटेको हो । कार्टुन कसले फुटायो भनेर सोध्नु भयो । ट्रलीबाट लगिन्छ । कहिलेकाँहि कमजोरी हुनसक्छ तर सामान मिसिङ छ कि छैन हेर्न भनेकै हो । उहाँले ठिक छ भनेर बुझ्नु भएको हो । अबदेखि नफुटाउँला भनेका छौं । हामीले क्षमायाचना गर्यौ । यस्तो कमजोरी हुनसक्छ । तर, कार्टुन अलि दह्रो लगाएको भए समस्या हुने थिएन । सामान झिकेर हाल्यो भन्ने आरोप मिथ्या हो ।