अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याएका छन्।
इरान र अमेरिकाबिच २ साताका लागि भएको युद्धविरामको अवधि आज (अप्रिल २२ मा) सकिँदै थियो।
तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थपिएको घोषणा गरेका हुन्।
यद्यपि होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उनले उल्लेख गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्, तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन्।’
उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।’
यसैबिच युद्धविराम लम्ब्याएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिएका छन्।
सरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई हृदयदेखि नै धन्यवाद दिन्छु। हाम्रो अनुरोध स्वीकार गर्दै युद्धविराम लम्ब्याउनुभयो ताकि कूटनीतिक प्रयास अगाडि बढ्न सकोस्।’
