विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा कुल ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन्।
मंगलबार मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोह शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।
विश्वविद्यालयका अनुसार विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका विद्यार्थी दीक्षित भएका हुन्। स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तरबाट १ हजार ४ सय १३ र एमफिलबाट ५ जना विद्यार्थी उत्तीर्ण भई दीक्षित भएका छन्।
संकायगत रूपमा सबैभन्दा धेरै २ हजार २ सय ६४ विद्यार्थी व्यवस्थापन संकायबाट दीक्षित भएका छन्। त्यस्तै, इन्जिनियरिङ संकायबाट १ हजार २ सय ६२, विज्ञान तथा प्रविधिबाट ७ सय ४७, कानुनबाट ६ सय २२ र चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानबाट ६ सय २४ जना विद्यार्थी दीक्षित भएका छन्।
शिक्षा संकायबाट ९ सय ९८ र मानविकी संकायबाट १ सय ८४ जना विद्यार्थीले दीक्षान्त प्राप्त गरेका छन्। समारोहमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदक र प्रमाणपत्र पनि प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एन्ड रिसर्चका निर्देशक प्राध्यापक डा. विवेकलालले पूर्वाञ्चल विश्वविद्यालयले नेपाली विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गरेर महत्वपूर्ण योगदान दिएको बताए।
सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्ने अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
वि.सं. २०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
