Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इस्लाममावाद । अमेरिका र इरानबीच भएको महत्वपूर्ण शान्ति वार्ता कुनै ठोस सहमतिविना समाप्त भएको छ। करिब २१ घण्टासम्म लगातार चलेको गहन छलफलपछि अमेरिकी पक्षले इरान आफ्ना प्रस्तावमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षमा पुग्न नसकेको जनाएको हो।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्ना ‘रेड लाइन’ स्पष्ट रूपमा प्रस्तुत गरे पनि इरानले ती सर्तहरू स्वीकार नगरेको बताए। उनका अनुसार अमेरिका लचिलो बन्ने प्रयासमा भए पनि इरानी पक्ष सहमतिका लागि तयार देखिएन।

बिज्ञापन

भान्सले अमेरिकाले इरानलाई आफ्नो अन्तिम तथा उत्कृष्ट प्रस्ताव दिइसकेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने निर्णय इरानकै हातमा रहेको स्पष्ट पारे।

अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए।

भान्सले ट्रम्प प्रशासनको मुख्य लक्ष्य इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु रहेको दोहोर्‍याउँदै, इरानले भविष्यमा कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नदिएसम्म कुनै सम्झौता सम्भव नभएको बताए।

यद्यपि वार्ता सफल हुन नसके पनि अमेरिकाले पाकिस्तानको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा भएको कमी पाकिस्तानका कारण नभएको स्पष्ट पारे। वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी टोली पाकिस्तानबाट फर्किने तयारीमा छ।

यसैबीच, इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू अघि सारेको आरोप लगाएको छ। इरानले आफू वार्तामा सकारात्मक सोचका साथ सहभागी भए पनि आफ्ना वैध अधिकार र स्वार्थको सम्मान हुनुपर्ने अडान दोहोर्‍याएको छ।

दुवै पक्ष आफ्ना अडानमा अडिग रहँदा मध्यपूर्वको तनाव घटाउने उद्देश्यले गरिएको यो प्रयास तत्कालका लागि असफल भएको देखिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka