इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशका युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालनमा ल्याइएको बताएका छन्।
बुधबार इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा बुद्धको प्रतिमा सहित निर्माण गरिएको पार्क उद्घाटन गर्दै उनले नवप्रवर्तन कार्यक्रममार्फत युवा उद्यमीलाई प्रोत्साहन गर्न उक्त परियोजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार उदय परियोजनाको औपचारिक शुभारम्भ बिहीबार सुनसरीको इटहरीमा हुने कार्यक्रममार्फत गरिनेछ। परियोजनाअन्तर्गत विभिन्न बैंक छनोट भइसकेकाले साना तथा मझौला युवा उद्यमीले ३० लाखदेखि तीन करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री कार्कीले स्वीस सरकारसँगको सहकार्यमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा आठ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। उनले युवालाई उद्योग सञ्चालनमा सहयोग गर्दै व्यवसायिक बनाउन दुई वर्षभित्र ठूलो लगानी गर्ने योजना रहेको र यसले बेरोजगारी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हिमाली तथा पहाडी जिल्लामा १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने र ३० देखि ४० प्रतिशत धितोमा ऋण प्रवाह गरिने उनले बताए। साथै, प्रदेश सरकारले गत वर्षदेखि ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै कृषि मन्त्रालयमार्फत छ करोड रुपैयाँ विनियोजन गरी १५० भन्दा बढी परियोजना सञ्चालनमा रहेको जानकारी दिए। उक्त कार्यक्रममा लगानीको ६ प्रतिशत ब्याज प्रदेश सरकारले व्यहोर्दै आएको छ।
उनले यस कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न समेत सहयोग पुग्ने बताए।
बुद्ध पार्क निर्माणसँगै कोशी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य थपिएको उल्लेख गर्दै कार्कीले आगामी दिनमा थप संरचना निर्माण गर्ने र पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा समावेश गर्ने बताए।
उद्घाटनसँगै बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्ध प्रतिमा सहितको पार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरकार, संघीय सरकार र सूर्योदय नगरपालिकाको करिब आठ करोड रुपैयाँको लगानीमा निर्माण भएको पार्क ११ वर्षपछि सञ्चालनमा आएको हो।
१७ रोपनी क्षेत्रफलमा फैलिएको पार्क नेपाल, भारत लगायत अन्य देशका पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले बताए।
उद्घाटनअघि बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे लगायतका गुरुहरूले प्राण प्रतिष्ठा गरेका थिए। नेपाल–भारत सीमा नजिक पशुपतिनगरबाट करिब दुई किलोमिटर दूरीमा रहेको बौद्धधाम अहिले विशेषगरी भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले पार्क सञ्चालनमा आएसँगै स्थानीय पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले पार्कसँगै अन्य पर्यटकीय संरचनाहरू पनि विकास गरिएको जानकारी दिए।
