






विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा एउटा विवाह समारोहमा कुटाकुट भएको छ । धनपालथान–६ कदमहामा बिहेघरमा भएको घटनामा बेहुली र बेहुला पक्षका स्थानीयबीच कुटाकुट भएको हो । शुक्रबार रातिको यो घटनामा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति साढे बजेतिर डिजे बजाएर नाच्ने क्रममा दुबै पक्षबीच विवाद भई कुटपिट भएको थियो ।
घटनामा परी धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।
घाइते हुनेहरू दुवै पक्षका छन् । घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् । झडपका क्रममा आक्रोशित पक्षले बिहे घरका कुर्सी तोडफोड गर्दै मण्डप पनि भत्काइदिएका थियो ।
झडपका कारण बेहुली पक्षले हतारहतार बेहुली अन्माएर पठाएका थिए । राति करिब १ बजे बेहुली लिएर विराटनगर फर्किएको जन्तीलाई प्रहरीले केही समय स्कटिङ गरेको थियो ।