नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट हुँदै जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतलाई अनुमति दिन इरान तयार रहेको बताएका छन्।
जापानी समाचार संस्था ‘क्योडो न्युज’सँगको कुराकानीमा उनले इरानले उक्त जलमार्ग प्रयोग गर्ने जापानी जहाजहरूलाई सहजीकरण गर्न इच्छुक रहेको उल्लेख गरेका हुन्।
क्योडो न्युजका अनुसार, अरागचीले अस्थायी रूपमा प्रतिबन्ध हटाउने विषयमा जापानी पक्षसँग पहिलेदेखि नै संवाद भइरहेको पनि जानकारी दिएका छन्।
उनको अभिव्यक्तिपछि जापान सरकारका एक अधिकारीले पनि सोही सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी उपाय इरानसँग प्रत्यक्ष संवाद गर्नु नै भएको बताएका छन्।
त्यस्तै, ती अधिकारीले अमेरिकाको प्रभाव वा दबाबबाट जोगिन उच्च सतर्कता अपनाउनु आवश्यक रहेकोमा पनि जोड दिएका छन्।
