Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका-इरानबीच शान्ति सम्झौताका प्रयास तीव्र, अन्तिम चरणतर्फ वार्ता

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि अमेरिका र इरानबीच शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र बनेका छन्। केही मतभेद बाँकी रहे पनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

विशेषगरी इरानको आणविक कार्यक्रमसम्बन्धी छलफलमा उल्लेखनीय प्रगति भएको बताइएको छ। पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् भने ‘ब्याक च्यानल’मार्फत निरन्तर सम्पर्क र मस्यौदा प्रस्तावहरूको आदानप्रदान भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहित स्टिभ विटकफ र जेरेड कुश्नरले वार्तालाई अघि बढाइरहेका छन्।

बिज्ञापन

यसै क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले तेहरानमा इरानी अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गर्दै अमेरिकी सन्देश पनि पुर्‍याएको बताइएको छ।

ह्वाइट हाउसले इरानसँग सम्झौताको सम्भावनाप्रति आशावादी रहेको जनाएको छ र दोस्रो चरणको वार्ता पुनः पाकिस्तानमै हुन सक्ने संकेत दिएको छ। यसअघि अप्रिल ११ मा इस्लामावादमा भएको वार्ता भने निष्कर्षविहीन बनेको थियो।

होर्मुज स्ट्रेटमा अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरानमाथि सम्झौता गर्न दबाब बढेको अमेरिकी अधिकारीहरूको दाबी छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार नाकाबन्दीपछि पछिल्लो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहमा पुगेको छैन भने ९ वटा जहाजलाई फर्काइएको छ।

इरानले दैनिक करिब १५ लाख ब्यारेल तेल निर्यात गर्दै ठूलो आम्दानी गर्दै आएको छ, जसको अधिकांश हिस्सा खार्ग टापुबाट हुन्छ। नाकाबन्दी लामो समयसम्म कायम रहे इरानले तेल उत्पादन नै रोक्नुपर्ने अवस्था आउन सक्ने र यसले पहिले नै कमजोर अर्थतन्त्रलाई थप प्रभावित पार्ने देखिन्छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँग फोनवार्ता गर्दै होर्मुज स्ट्रेटमा आवागमन सहज बनाउन आग्रह गरेका छन्। यता इरानले भने अमेरिकी सैन्य उपस्थितिले क्षेत्रीय स्थिरतामा खतरा निम्त्याएको आरोप लगाएको छ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारी स्टिफन मिलरले इरान सम्झौताका लागि तयार नभए नाकाबन्दी अनिश्चितकालसम्म जारी रहन सक्ने चेतावनी दिएका छन्।

यसबीच, विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले इरानसँगको द्वन्द्व लम्बिए विश्वव्यापी खाद्य संकट गहिरिन सक्ने र भोकमरी २० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिएका छन्।

सम्भावित शान्ति सम्झौताप्रति आशावादी संकेत देखिँदा एसियाली शेयर बजारहरूमा समेत सकारात्मक प्रभाव परेको छ।

युद्धविरामको समयसीमा नजिकिँदै जाँदा मध्यपूर्वमा कूटनीतिक पहल र सैन्य दबाब दुवै तीव्र रूपमा अघि बढिरहेका छन्। आगामी केही दिन शान्ति वा थप द्वन्द्वतर्फको दिशा तय गर्न निर्णायक हुने देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka