Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

चाईनिज नेभिगेसन प्रयोग गरेर इरानले गर्दैछ सटिक प्रहार

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । इरानले आफ्ना मिसाइल र ड्रोन प्रहारको सटीकता बढाउन अमेरिकी नियन्त्रणमा रहेको जीपीएस प्रणालीलाई पूर्ण रूपमा त्यागेर चीनको बाइडू (BeiDou) नेभिगेसन स्याटलाइट प्रणाली अपनाएको सूचना बाहिर आएको छ । यो परिवर्तन इरानका लागि केवल प्राविधिक स्तरोन्नति मात्र नभई मध्यपूर्वमा सैन्य शक्ति सन्तुलन उल्ट्याउने एक रणनीतिक कदम समेत बनेको छ ।

वरिष्ठ रक्षा विश्लेषकहरूले यस नयाँ सैन्य संरचनालाई आँखा र मुक्का (Eyes and Fists) को संज्ञा दिएका छन् । डिफेन्स सेक्युरिटी एसियाका अनुसार यसमा चीनले आफ्नो विशाल स्याटलाइट सञ्जालमार्फत गुप्तचर जानकारी उपलब्ध गराउँछ भने इरानले आफ्ना मिसाइल र ड्रोनमार्फत घातक प्रहार गर्दछ ।

बिज्ञापन

यो साझेदारीले गर्दा इरानले अब २४सै घण्टा, जुनसुकै मौसममा र वास्तविक समयमा इजरायली र अमेरिकी सैन्य ठेगानाहरूको सटीक जानकारी प्राप्त गर्न थालेको छ । चीनको यो प्रणालीले इरानलाई ‘फाइन्ड, फिक्स, ट्र्याक र टार्गेट’ गर्ने क्षमता प्रदान गरेको छ । जुन यसअघि केवल ठुला महाशक्ति राष्ट्रहरूसँग मात्र सीमित थियो ।

मिसाइल प्रहारमा कसरी आयो सटीकता ?

इरानले सन् २०२५ को जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्धपछि जीपीएस त्याग्ने प्रक्रियालाई तीव्र बनाएको थियो । फ्रान्सका पूर्व गुप्तचर निर्देशक एलेन जुइलेटले टोक्सिन पोडकास्टमा बोल्दै इरानी मिसाइलहरू विगतको तुलनामा निकै सटीक हुनुको मुख्य कारण चिनियाँ बाइडू प्रणालीको पहुँच भएको दाबी गरेका छन् । उनले भनेका छन्, “यस युद्धको एउटा ठुलो आश्चर्य भनेको इरानी मिसाइलहरूको अचुक निशाना हो, जसले उनीहरूको गाइडेन्स सिस्टममा ठुलो परिवर्तन आएको सङ्केत गर्छ ।”

सैन्य विश्लेषक प्याट्रिसिया मारिन्सका अनुसार बाइडू-३ (BDS-3) को सैन्य ग्रेडको B3A सिग्नललाई जाम गर्न वा छल्न (Spoofing) लगभग असम्भव छ । सन् २०२५ को युद्धमा इजरायलले जीपीएस सिग्नल जाम गरेर धेरै इरानी ड्रोनहरूलाई झुक्याउन सफल भएको थियो । तर बाइडू प्रणालीले त्यस्ता अवरोधहरूलाई स्वतः फिल्टर गर्ने क्षमता राख्छ । यसले इरानी मिसाइलहरूको त्रुटिको दायरा (Circular Error Probability) ५ मिटरभन्दा कममा झारेको छ ।

बाइडूका अन्य मौलिक विशेषता

बीएनई इन्टेलिन्युज र फर्स्टपोस्टका अनुसार बाइडू प्रणालीमा रहेको ‘शर्ट मेसेज कम्युनिकेसन’ (SMC) फिचर इरानका लागि वरदान साबित भएको छ । यो फिचरले कमाण्डरहरूलाई २,००० किलोमिटर टाढा उडिरहेका मिसाइल वा ड्रोनहरूसँग दुईतर्फी सञ्चार गर्न अनुमति दिन्छ । यदि चिनियाँ स्यालाइटले बीच बाटोमा कुनै अमेरिकी ‘प्याट्रियट’ मिसाइल ब्याट्री वा एफ-३५ लडाकु विमान फेला पारेमा उडिरहेको ड्रोनलाई तुरुन्तै बाटो बदल्न वा लुक्न निर्देशन दिन सकिन्छ ।

इरानी अधिकारीहरूको स्वीकारोक्ति र रणनीतिक बाध्यता

इरानका सञ्चार उपमन्त्री एहसान चित्साजले जीपीएसमा आउने आन्तरिक र बाह्य अवरोधका कारण इरानले बाइडू जस्ता वैकल्पिक विकल्प रोज्नुपरेको पुष्टि गरेका छन् । इरानले अब मिसाइल मात्र नभई यातायात, कृषि र इन्टरनेट पूर्वाधारमा पनि बाइडू प्रणाली नै लागु गरिरहेको छ।

तेहरानस्थित चिनियाँ दूतावासका काउन्सिलर झाङ हेकिङले पनि इरानको बाइडू प्रणालीमा पूर्ण सङ्क्रमण भइसकेको सार्वजनिक रूपमा पुष्टि गरेका छन् । उनका अनुसार यो कदमले पश्चिमी डिजिटल पूर्वाधारमाथिको निर्भरता घटाउन मद्दत गरेको छ ।

भू-राजनीतिक प्रभाव र भविष्यको चेतावनी

चीन र इरानबीच सन् २०२१ मा भएको २५ वर्षे रणनीतिक साझेदारीले यस अन्तरिक्ष सहयोगका लागि आधार तयार पारेको थियो । थियो नेन्सिनी (ChinaMed Project का शोधकर्ता) भन्छन्, “इरानको यो कदमले भविष्यको युद्ध कस्तो हुनेछ भन्ने देखाउँछ । अब युद्ध केवल जमिनमा मिसाइल लन्चरले मात्र होइन, अन्तरिक्षमा रहेका स्याटलाइट सञ्जालले जितिनेछ ।”

चिनियाँ सैन्य टिप्पणीकार झान हाओका अनुसार, अमेरिकी नियन्त्रित पूर्वाधारमा आँखा चिम्लेर भर पर्ने युग समाप्त भएको छ । इरानको यो सफल प्रयोगले मध्यपूर्वका अन्य देशहरूलाई पनि अमेरिकी जीपीएस प्रणाली छोडेर विविधता खोज्न प्रेरित गर्न सक्छ, जसले विश्वको डिजिटल र सैन्य नक्सालाई नै परिवर्तन गरिदिनेछ ।

अब इजरायल वा अमेरिकी बेसहरूमा प्रहार हुने इरानी मिसाइलहरू भौतिक रूपमा इरानबाट आए पनि तिनलाई मार्गनिर्देशन गर्ने ‘मस्तिष्क’ भने चिनियाँ स्याटलाइटहरू नै हुने चेतावनी विज्ञहरूले दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka