विराटनगर । विराटनगरमा पहिलो पटक बृहत र निर्माण प्रदर्शनी (होम बिल्ड एक्जिबिसन) आयोजना हुन लागेको छ। उद्योग संगठन मोरङले चैत १२ देखि १६ गतेसम्म एक्जिविसन आयोजना गर्न लागेको हो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने, “यो कार्यक्रम केवल मनोरञ्जनको लागि नभई वास्तविक व्यवसायिक र सरोकारवालाहरूका लागि लक्षित गरिएको छ।”
आयोजकका अनुसार, काठमाडौँमा केन्द्रित हुने ‘बिल्डकन’ जस्ता प्रदर्शनीलाई पहिलो पटक उपत्यका बाहिर आयोजना गरेर कोशी प्रदेशको निर्माण क्षेत्रमा नयाँ ऊर्जा थप्ने प्रयास गरिएको छ। राठीका अनुसार, सुस्त बजारलाई गति दिन र उपभोक्तालाई निर्माण प्रविधिसँग प्रत्यक्ष जोड्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री—जस्तै किचन, सिमेन्ट, छड, प्लाइवुड, पेन्ट्स, इन्टेरियर र सिसीटिभीलगायत ६० देखि ६५ वटा स्टलहरू राखिने छन्। आयोजकले भीडभन्दा वास्तविक सरोकारवालाको सहभागिता प्राथमिकता दिँदै प्रवेश निःशुल्क राखेको छ।
कार्यक्रमको अर्को आकर्षण विभिन्न चार क्षेत्रअन्तर्गत सञ्चालन हुने ११ वटा थिमेटिक सेसनहरू हुनेछन्। यी सेसनमा भवन निर्माण मापदण्ड, भूकम्पीय सुरक्षा, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता, अग्नि सुरक्षा, घर सुरक्षा अभ्यास, सामग्रीको गुणस्तर मापदण्ड, वास्तुशास्त्रका सिद्धान्त, सामान्य गल्ती र आधुनिक घरका अन्य आवश्यक विषयमा विज्ञहरूले जानकारी दिनेछन्।
त्यस्तै, आठ ओटा विशेष सेसनमा इन्टेरियर डिजाइन, स्पेस प्लानिङ, घर अटोमेशन, सुरक्षा प्रविधि, सोलार प्रविधि, वाटरप्रूफिङ समस्या र समाधान, धमिरा नियन्त्रण, पुराना भवनहरूको रेट्रोफिटिङ प्रविधि जस्ता विषयमा छलफल हुनेछ। विशेषगरी पक्की घरमा देखिने धमिरा समस्याका समाधानका उपायहरूमा पनि विस्तृत चर्चा हुने आयोजकले जानकारी दिएका छन्।
धरान, इटहरी र मोरङका इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई समेत आमन्त्रण गरिनेछ। प्रदर्शनीको उद्देश्य आधुनिक निर्माण अभ्यास र नयाँ प्रविधिबारे जनचेतना बढाउनु, नेपाली औद्योगिक उत्पादन प्रवद्र्धन गर्नु, नवप्रवर्तनलाई प्रोत्साहन गर्नु र उपभोक्ता, व्यवसायी तथा प्रविधिविशेषज्ञबीच बलियो नेटवर्किङ स्थापित गर्नु हो। प्रदर्शनी दैनिक बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
