काठमाडौं । अफगानिस्तानले पाकिस्तान माथि राजधानी काबुलमा रहेको लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका जनाइएको छ ।
यो घटना गत महिनाको अन्त्यबाट सुरु भएको द्वन्द्वको अर्को चरणका रूपमा आएको हो । पछिल्ला दिनहरूमा सीमापार झडप र अफगानिस्तानभित्र हवाई आक्रमणहरू बढ्दै गएका छन् भने युद्धविरामका लागि भएका अन्तर्राष्ट्रिय आग्रहहरू प्रभावहीन बनेका छन् ।
पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । उसले पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना कारबाहीहरूमा कुनै पनि नागरिक संरचनालाई निशाना नबनाइएको दाबी गरेको छ ।
अफगान सरकारका उप–प्रवक्ता हमदुल्लाह फित्रत ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्थानीय समयअनुसार राति करिब ९ बजे भएको हवाई आक्रमणले अस्पतालमा ठूलो क्षति पुर्याएको बताएका छन् । उनका अनुसार करिब २ हजार बेड क्षमताको अस्पतालका प्रमुख संरचनाहरू ध्वस्त भएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइते तथा मृतकलाई उद्धार गरिरहेको र दमकलकर्मीहरूले भग्नावशेषमा लागेको आगो निभाउन प्रयास गरिरहेको देखिन्छ । उद्धार टोलीहरू अझै पनि घटनास्थलमा खटिएका छन् ।
दुवै देशबीच वर्षौँयताकै सबैभन्दा घातक द्वन्द्व अहिले तेस्रो सातामा प्रवेश गरेको छ । सीमाक्षेत्रमा गोली हानाहान हुँदा अफगानिस्तानमा चार जनाको मृत्यु भएको केही घण्टापछि उक्त आक्रमण भएको बताइएको छ ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिद ले आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानले अस्पताल र अन्य नागरिक क्षेत्रलाई लक्षित गरेर आतंक फैलाएको आरोप लगाएका छन् । उनले यस्तो कार्यलाई मानवताविरुद्धको अपराधको संज्ञा दिएका छन् ।
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ का प्रवक्ता मोसर्रफ जैदी ले यी आरोपहरू निराधार भएको दाबी गर्दै काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको बताएका छन् ।
यसअघि पाकिस्तानको सूचना मन्त्रालयले आफ्ना आक्रमणहरू काबुल र नान्गहार क्षेत्रमा रहेका आतंकवादी पूर्वाधारहरू—जस्तै सैन्य अखडा, प्राविधिक उपकरण तथा गोलाबारुद भण्डारण—लाई लक्षित गरिएको दाबी गरेको थियो । पाकिस्तानका अनुसार ती स्थानहरू निर्दोष पाकिस्तानी नागरिकविरुद्ध प्रयोग भइरहेका थिए ।
