काठमाडौँ | संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)का अनुसार पछिल्लो तीन वर्षभन्दा कम अवधिमा ६० लाखभन्दा बढी अफगानी स्वदेश फर्किएका छन्।
युएनएचसीआरले अफगानिस्तान फर्कने मानिसको यो सङ्ख्या हालसम्मकै असाधारण रहेको जनाएको छ। स्वदेश फिर्तीलाई सामान्य प्रक्रिया मानिए पनि यो स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा उसले जोड दिएको छ।
स्वदेश फर्कनेमध्ये अधिकांश छिमेकी मुलुक इरान र पाकिस्तानबाट आएका छन्। अफगान अधिकारीहरूले फर्किएका नागरिकका लागि आश्रय, खाद्यान्न, गैरखाद्य राहत सामग्री तथा बसोबासको व्यवस्था गरिरहेको जनाएका छन्।
यद्यपि, स्वदेश फर्किएका मानिसले रोजगारीको अभाव, उच्च गरिबी र दैनिक जीवनयापनमा आर्थिक कठिनाइ भोगिरहेको बताएका छन्। पुनःएकीकरणलाई सहज बनाउन तथा जीवनस्तर सुधारका लागि उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह गरेका छन्।
