नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । इरानले आइतबार पहिलो पटक इजरायलमाथि ‘सेजिल’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानले अमेरिका र इजरायलका लक्ष्यहरूमा गरिएको जवाफी कारबाहीमा उक्त क्षेप्यास्त्र प्रयोग गरिएको दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका अनुसार इजरायलका सैन्य तथा रक्षा संरचनालाई निशाना बनाएर आक्रमण गरिएको हो।
‘सेजिल’ शब्दको अर्थ ‘जलिरहेको ढुंगा’ हो। यो ठोस इन्धनबाट सञ्चालन हुने रणनीतिक क्षेप्यास्त्र हो, जसले करिब दुई हजारदेखि २५ सय किलोमिटरसम्मको दूरीमा आक्रमण गर्न सक्ने बताइएको छ। यस क्षेप्यास्त्रको गति ‘म्याक १३’भन्दा बढी रहेको र ध्वनिको गतिभन्दा करिब १३ गुणा छिटो उड्न सक्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार यस क्षेप्यास्त्रको पहुँच इजिप्ट, सुडानका केही भाग, युक्रेनको ठूलो भूभाग, दक्षिणी रुसका क्षेत्र, पश्चिमी चीनको हिस्सा, भारत तथा हिन्द महासागर र भूमध्यसागरका विस्तृत क्षेत्रसम्म पुग्न सक्छ।
इरानी सञ्चारमाध्यमका अनुसार ‘सेजिल’ शब्द कुरानको ‘सुराह अल–फिल’मा वर्णित कथासँग जोडिएको छ, जहाँ ‘सेजिल’ नामका ढुंगाहरू प्रहार गरेर शत्रुहरूलाई पराजित गरिएको प्रसंग उल्लेख गरिएको छ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानले युद्धविरामको माग नगरेको बताएका छन्। उनले अमेरिकासँग वार्ताको प्रयाससमेत नगरेको स्पष्ट पार्दै आवश्यक परेसम्म इरानले आफ्नो रक्षा जारी राख्ने बताएका छन्।
उनले इरान यस संघर्षबाट पछि नहट्ने उल्लेख गर्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध गैरकानुनी भएको स्वीकार नगरेसम्म इरानले जवाफी कदम जारी राख्ने बताएका छन्।
