विराटनगर । मोरङका दुई निर्वाचन क्षेत्र–४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भइसकेका छन् । क्षेत्र नम्बर ४ बाट सन्तोष राजवंशी र क्षेत्र नम्बर ६ बाट रुबिना आचार्य निर्वाचित भएका हुन् ।
बाँकी चार निर्वाचन क्षेत्रको मतगणना भने जारी रहेको छ । ती सबै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
निर्वाचन कार्यालय मोरङका अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका ज्ञानमणि न्यौपानेले १९ हजार ९८२ मत प्राप्त गरेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १२ हजार ६७६ मतसहित पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका खड्ग फागोले ८ हजार ६७६ मत पाएका छन् ।
त्यस्तै, मोरङ क्षेत्र नम्बर २ मा रास्वपाका कृष्ण कार्की अग्रस्थानमा छन् । उनले ३३ हजार ५५४ मत प्राप्त गर्दा नेकपा एमालेका दिलिप कुमार अग्रवालले १३ हजार ८४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार मिनेन्द्र रिजालले १० हजार ४९१ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै गणेश कार्की अगाडि छन् । उनले १५ हजार ६३२ मत प्राप्त गर्दा कांग्रेसका सुनील कुमार शर्माले १० हजार १७९ मत ल्याएका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका अमिर मगरले ७ हजार ७३९ मत प्राप्त गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ५ मा पनि रास्वपाकी उम्मेदवार आशा झाले अग्रता कायम राखेकी छन् । उनले २४ हजार ६५९ मत प्राप्त गर्दा कांग्रेसका फुलकुमार लालवानीले ८ हजार ७७० मत पाएका छन् भने नेकपाका शिवकुमार मण्डलले ७ हजार ६६५ मत प्राप्त गरेका छन् ।
