काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भाग्ने घटनामा संलग्न तीन जनामाथि मुद्दा चलाउने तयारी गरिएको छ।
बुथ कब्जा गर्ने उद्देश्यले मतपत्रको ठेली बोकेर हिँडेको आरोपमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहँदा नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको बताइएको छ। तर नेपाली कांग्रेस र नेकपाले घटनामा पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्।
यसैबीच, उक्त केन्द्रमा स्थगित भएको मतदानका लागि अर्को मिति तय गर्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध जनाएका थिए। त्यस क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।
