Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

मोरङ ६ मा आचारसंहिताको धज्जी उडाउँदै रास्वपा, राष्ट्रिय झण्डाको गरियो अपमान

निर्वाचन आयोगमा पर्यो उजुरी

Calendar शनिबार, फाल्गुण ०९, २०८२  | अपराह्न १२:११ बजे

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको छ । साथै, रास्वपाले राष्ट्रिय झण्डाको समेत अपमान गरिरहेको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिरहेको गम्भीर विषय बाहिर आएको हो । आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिएको विषयमा रास्वपा एवं उक्त पार्टीका उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमक्ष उजुरीसमेत परेको छ ।

रास्वपा कार्यकर्ताहरूले राजनीतिक प्रचार सामग्रीमा राष्ट्रिय झण्डाको अपमानजनक प्रयोग गरेको र आचारसंहिता विपरीतका गतिविधि गरिरहेको भनेर मोरङ–६ का स्वतन्त्र उम्मेदवार उत्तम दाहालले उजुरी दिएका हुन् । रास्वपाको विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित कार्यालयमा राखिएको राजनीतिक ब्यानरमा राष्ट्रिय झन्डाको सानो चित्र मात्र समावेश गरिएको र वास्तविक झन्डालाई ब्यानरभन्दा तल राखेर अपमान गरिएको उजुरीमा उल्लेख छ ।

यस्तो हर्कतलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ र राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६७ को दफा १० र ११ को स्पष्ट उल्लंघन मानिन्छ । झन्डाको दुरुपयोग र अपमानजनक रूपमा झन्डा राख्ने कार्यमा संलग्नलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिबाना अर्थात् दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

स्वतन्त्र उम्मेदवार दाहालका अनुसार रास्वपा कार्यकर्ताहरूले पार्टीको चुनाव चिन्ह (घण्टी) चिन्हको ब्याच प्रचार सामग्रीमा प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहिताले कुनै पनि दलको नाम वा चुनाव चिन्ह अंकित ब्याच, टोपी वा टी–सर्ट उत्पादन र प्रयोगमा पूर्ण रूपले निषेध गरेको भए पनि रास्वपाका उम्मेदवार र नेता कार्यकर्ताले कानुनविपरीतको काम गरिरहेको उनले बताए ।

दाहालले सुरुमा यस विषयमा फोन र वाट्सएपमार्फत मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सरोज कोइरालालाई जानकारी गराएका थिए । यसअघि भएको उम्मेदवारहरुबीचको सर्वपक्षीय बैठकमा पनि रास्वपाले निर्वाचन आचारसंहिताविपरीतको गतिविधि गरिरहेको र राष्ट्रिय झन्डाको अपमान एवं दुरुपयोग गरेको विषय

मा उनले कुरा उठाएका थिए ।

५ दिनपछि पनि अपमानजनक ब्यानर नहटाइएको र आचारसंहिताविपरीतका गतिविधि नरोकिएको
दाहालले कुरा राखेपछि सम्बन्धित अधिकारीहरूले कारबाही हुने प्रष्ट पारेका थिए । तर, १५ दिनपछि पनि अपमानजनक ब्यानर नहटाइएको र आचारसंहिताविपरीतका गतिविधि नरोकिएको दाहालले बताए । ‘सुरुमा मैले सर्वपक्षीय बैठकमा कुरा उठाएँ । त्यसपछि फोन र वाट्सएप गरेर जानकारी पनि गराएँ । तर, अहिलेसम्म न कारबाही भयो, न त कानुनविपरीतका गतिविधि नै रोकिएको,’ उनले भने ।

स्थानीयले भने रास्वपाको कानुनविपरीतका गतिविधि राज्यबाट संरक्षित हुन सक्ने आशंका गरेका छन् । अहिलेसम्म सम्बन्धित निकायले कारबाहीको कुनै प्रक्रिया अघि नबढाइएपछि र कानुनको धज्जी उडाउने क्रम नरोकिएपछि स्थानीय र अन्य उम्मेदवारहरु सशंकित बनेका छन् ।

यस विषयमा बुझ्न खोज्दा रास्वपाबाट मोरङ–६ मा उम्मेदवार रहेकी रुविना आचार्यसँग सम्पर्क हुन सकेन । बारम्बार गरेको फोन उनले काटिन् । रास्वपा मोरङका संस्थापक अध्यक्ष यादव प्रधानको पनि फोन उठेन ।

कानुनविपरीतका गतिविधि नसच्याएमा कारबाही गरिने

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कोइरालाले आचारसंहिता उल्लंघन र झन्डाको अपमान एवं दुरुपयोगको विषयमा स्वतन्त्र उम्मेदवारबाटै उजुरी परेको बताए । ‘उजुरी परेपछि मैले सम्बन्धित दलको उम्मेदवारसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरें । तर, फोन उठेन । गलत गतिविधि तत्काल सच्याउनु भनेर वाट्सएपमा म्यासेज पठाएको छु । त्यसको कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने ।

कानुनविपरीतका गतिविधि नसच्याएमा कारबाही गरिने जानकारी कोइरालाले दिए । उजुरीमाथि छानबिन गर्दै कारबाहीका लागि थप कुरा बुझ्ने प्रक्रिया अघि बढिसकेको उनले बताए । निर्वाचनमा पारदर्शिता सुनिश्चित गर्न सक्रियता बढाइएको कोइरालाको भनाइ छ ।

उम्मेदवार दाहालले उजुरीसँग प्रमाणका रूपमा राष्ट्रिय झन्डाको अपमान एवं दुरुपयोग गरिएको तस्बिर र भिडियोका साथै चुनाव चिन्ह अंकित ब्याचका तस्बिरहरू समेत पेस गरेका छन् । उनले कानुनको धज्जी उडाउनेलाई मुलुकी अपराध संहिता अनुसार र निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही अघि बढाउन माग गरेका छन् ।

आचारसंहिता उल्लंघन, राष्ट्रिय प्रतीकको दुरुपयोग

मोरङ–६ मा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय प्रतीकको दुरुपयोग र राजनीतिक दल एवं उम्मेदवारद्वारा प्रचार सामग्रीको गलत प्रयोगविरुद्ध सबैले आवाज उठाउनुपर्ने दाहालको भनाइ छ । यस्ता गलत गतिविधिले मतदातामा मनोवैज्ञानिक प्रभाव पर्ने र निष्पक्ष निर्वाचनको वातावरणमा असर पर्ने उनले बताए ।

मोरङ–६ मा रास्वपाकी आचार्यसहित नेपाली कांग्रेसबाट डा। शेखर कोइराला, नेकपा ९एमाले०बाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka