Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका रास्वपा सांसदको अनुगमन फन्डा- समाधान दिँदैनन् उल्टै प्रश्न तेर्स्याएर बाटो लाग्छन् !

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २९, २०८३  | अपराह्न २:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु मोरङका विभिन्न स्थानमा अनुगमनमा व्यस्त देखिएका छन् । केही दिनयता गृहजिल्ला मोरङमा रहेका मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणी न्यौपाने विराटनगरका उद्योगी व्यवसायी सहित विराटनगर महानगरपालिका वडा नम्बर १६ र सुनसरीमा पर्ने सुगर मिल क्षेत्र पुगे ।

त्यहाँ औद्योगिक ग्राम बनाउन विराटनगरका उद्योगी व्यवसायीले वर्षौदेखि माग गर्दै आएका छन् । यहीक्षेत्र अवलोकन गर्न न्यौपाने उद्योगी सहित पुगेका हुन । उनले साल्ट ट्रेडिङको खाली जग्गा समेत अवलोकन गरेका थिए । उनले आफ्नो फेसबुक पेजमा ‘औद्योगिक क्षेत्र कायम गर्ने विषयको सम्भाव्यता अध्ययनको लागि सम्बन्धित क्षेत्रमा निरीक्षण’ भन्दै भिडियो पोस्ट गरेका छन् । न्यौपानेसँगै उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघका पदाधिकारी पनि सुगर मिल क्षेत्र पुगेका थिए । दुई दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले औद्योगिक ग्रामको माग गरेपनि सो पूरा हुन सकेको छैन ।

बिज्ञापन

त्यसअघि उनले केराबारीदेखि लेटाङ्ग जाने मदन भण्डारी राजमार्गबारे व्यापक गुनासो आई मानिस हिँड्न नसक्ने अवस्था भएपछि ठेकदार तथा प्राविधिक अनि इन्जिनियरसँग तत्काल समाधानका लागि टेलिफोन वार्ता गरेको भन्दै आफ्नै पेजमा अर्को भिडियो हालेका थिए । यसअघि उनले सोही सडकको हिलाम्मे सडकबारे ‘मदन भण्डारी राजमार्ग भनिने बाटोको अवस्था यस्तो छ । जनताले त्यसै बाटोमा धान रोप्दैनन्। बाध्यता हो, विरोधको नयाँ शैली हो। अब यो बाटोमा खाल्टाखुल्टी पुर्ने कामका लागि तत्काल केन्द्र सरकार लाग्ने कि ? प्रदेश सरकार लाग्ने कि? स्थानीय तहले समेत केही पहल गर्ने हो ?’ भन्दै अर्को पोस्ट गरेका थिए ।

उनले ‘स्थायी र छिटो समाधानका लागि मैले त केन्द्र सरकारसँग निरन्तर पहल गरिरहेको छु। स्थानीय सरकार र प्रदेशले कम्तिमा तत्काललाई खाल्टाखुल्टी पुरेर नागरिक हिँड्न सक्ने बनाउनु पर्यो, यो फेसबुकमा पोस्ट मात्र होइन नागरिकको खबरदारी हो। स्थानीय वा प्रदेशसँग पैसा छैन भन्ने हो भने तुरुन्त केन्द्र सरकारसँग पहल गरोस्। २४ घण्टा म तपाईँहरूको सहजीकरणका लागि तयार छु।’ भन्दै पोस्ट गरेका छन् ।

सर्वसाधारणले कमेन्टमार्फत न्यौपानेलाई सोधेका छन् ‘प्रश्न गर्ने ठाउँमा होइन्, उत्तर दिने ठाउँमा तपाइँ हुनुहुन्छ। अब प्रश्न हामी गर्छौं, किन मदन मार्ग यो हालतमा छ ? यसको जवाफ चाहियो माननीय ज्यू, मजाक नगर्नु होला।’

उनको यो पोस्टमा सांसद निर्वाचित भईसकेपछि अझै दोष अरुलाई थोपर्ने भन्दा पनि रिजल्ट दिनेगरी काम गर्न भन्दै सर्वसाधारण र सरोकारवालले धेरै कमेन्ट गरेका छन् । न्यौपानेले विराटनगरमा सिएनआईको कार्यक्रममा समेत पुगेर भाषण गरेका थिए ।

जुलाई १० तारिकका दिन झुम्का जिल्ला कारागारमा सांसद न्यौपाने पुगेका थिए । उनले लेखेका छन् ‘कारागारमा कैदीबन्दीहरुले मुढा, गलैंचा तथा ढाका बुन्ने लगायतका काममा श्रम शोषण भइरहेको छ। कैदीबन्दी हरू नाइके भाइ नाइके चौकीदारका कारणले नै पीडित भएका छन् भन्ने समेतका गुनासाका कारण अनुगमनमा गएको अवस्था हो।’

‘श्रमको उपयुक्त मूल्य दिएको छैन् भन्ने सामेत गुनासो आएपछि राज्य व्यवस्था समितिको तर्फबाट झुम्का कारागार अनुगमन’ भन्दै उनले पोस्ट गरेका छन् । समितिको प्रतिनिधि मण्डल इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयमा गई अनुसन्धान सम्बन्धी कागजात माग गरेको विषयमा विवाद र टिका टिप्पणी नै भएको थियो ।

न्यौपाने मात्र होइन, रास्वपाका अन्य सांसदहरु समेत अनुगमनमा जाने र विभिन्न प्रश्न गर्ने गरेका छन् । समस्या समाधानको बाटो निकाल्ने भन्दा पनि समस्यामात्र उजागर गर्ने काम मात्र हुँदा सांसदहरुकै आलोचना हुन थालेको छ ।
न्यौपाने जस्तै मोरङ क्षेत्र नम्बर ५ की रास्वपा सांसद आशा झा पनि बेलाबेला अनुगमनका निस्कने गरेकी छिन् । यस क्रममा उनले रंगेलीमा प्रहरीबाट ‘पिर्के सलामी’ लिएको विषय निकै आलोचित बन्यो । मोरङ ६ की सांसद रुबिना आचार्यले विराटनगर आएको बेला आरती स्ट्रिप्स अवलोकन गरिन । गृहमन्त्री सुधन गुरुङसँगै कोसी अस्पताल निरीक्षणमा समेत गएकी थिइन ।

रास्वपा सांसदहरु अनुगमनको फन्डामा निस्कने, समस्याबारे प्रश्न गर्ने तर त्यसको समाधानको बाटो भने नदिई हिंड्ने गरेको पाइएको छ । पुरानो भनिएका दललाई प्रश्न गरेर जनताबाट अभूतपूर्व अभिमत पाएर एकमना सरकारको नेतृत्व गरिरहेको पार्टीका सांसदहरुले जनस्तरमा भएका समस्या समाधानको बाटो पहिल्याउन नसकेकोमा भने आलोचना हुन थालेको छ ।

मोरङ क्षेत्र नम्बर ४ का रास्वपा सांसद सन्तोष राजवंशीले पनि अनुगन फन्डा चलाई रहेका छन् । उनले केही समयअघि विराटनगरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको काम चाँडै सक्ने भन्दै आश्वासन बाँडेका थिए ।

मोरङ ३ का सांसद गणेश कार्कीले पनि पथरी लगायत क्षेत्रको समस्या समाधान गर्ने भन्दै अनुगमनमा गई स्थानीयसँग छलफल गरेका थिए ।

यद्धपि उनले भूमि तथा दोहोरो बसोबास सम्बन्धी समस्या जोडदार रुपमा सदनमा भने उठाएका छन् । रुबिना आचार्यले पनि सदनमा बोल्दै बेलाबेला विराटनगरका समस्या उठान गर्ने गरेकी छिन् । मोरङ २ का सांसद कृष्ण कार्की भने हिजोआज त्यतिसाह्रो चर्चामा रहेका छैनन् । सदनमा समेत उनको प्रस्तुति मतदाताले देख्न पाएका छैनन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa