Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जापानमा ‘स्न्याप इलेक्सन’: लाखौँ मतदाता सहभागी हुँदै

Calendar आइतबार, माघ २५, २०८२  | बिहान ९:५९ बजे

काठमाडौं । जापानमा प्रधानमन्त्री सानाए ताकाइचीले घोषणा गरेको आकस्मिक निर्वाचन (स्न्याप इलेक्सन) अन्तर्गत लाखौँ मतदाताहरू मतदानमा सहभागी भइरहेका छन् ।

यस निर्वाचनमा ताकाइची नेतृत्वको गठबन्धनले निर्णायक जित हासिल गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको केही महिनामै ताकाइचीले जनताको प्रत्यक्ष जनादेश खोज्ने उद्देश्यसहित संसद् विघटन गरी निर्वाचनको घोषणा गरेकी थिइन् ।

विभिन्न मत सर्वेक्षणका अनुसार उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र पपुलिस्ट जापानी इनोभेसन पार्टीसँगको गठबन्धनले तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० सिट जित्न सक्ने सम्भावना देखिएको छ । गत वर्ष संसद्का दुवै सदनको नियन्त्रण गुमाएको एलडीपीका लागि यो ठूलो राजनीतिक पुनरागमन मानिएको छ ।

ताकाइचीले कर कटौती र सरकारी अनुदान विस्तारका प्रस्तावमार्फत मतदाताहरू आकर्षित गर्ने प्रयास गरेकी छन् । यद्यपि आलोचकहरूले यी नीतिहरूले सुस्त गतिमा रहेको जापानी अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।

ताकाइचीको लोकप्रियता

निर्वाचनअघि करिब ४.६ मिलियन मतदाताले अग्रिम मतदान गरिसकेका छन्, जुन सन् २०२४ को अघिल्लो निर्वाचनको तुलनामा २.५ प्रतिशत कम हो । उत्तरी तथा पश्चिमी क्षेत्रहरूमा परेको भारी हिमपातका कारण अग्रिम मतदानमा कमी आएको बताइएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार ताकाइचीको व्यक्तिगत लोकप्रियताले यस निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीको प्रदर्शन सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक ताकाइची लामो समयदेखि जापानकी ‘आइरन लेडी’ बन्ने आकांक्षा व्यक्त गर्दै आएकी छन् । स्वर्गीय पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने उनले बलियो रक्षा नीति र राष्ट्रवादी एजेन्डाको पक्षपोषण गर्दै आएकी छन् ।

जेन्डर र परिवारका विषयमा परम्परागत दृष्टिकोण राखे पनि १८ देखि ३० वर्ष उमेर समूहका युवा मतदातामाझ ताकाइचीको लोकप्रियता उल्लेखनीय रहेको मत सर्वेक्षणहरूले देखाएका छन् । अक्टोबरमा पदभार सम्हालेपछि उनको सरकारको स्वीकृति दर निरन्तर ७० प्रतिशतभन्दा माथि रहेको छ ।

सामाजिक सञ्जालमा पनि ताकाइचीको प्रभाव बलियो देखिन्छ । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा उनका २.६ मिलियन फलोअर छन् । लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट सार्वजनिक गरिएको उनको चुनावी भिडियो १० दिनभन्दा कम अवधिमा १०० मिलियनभन्दा बढी पटक स्ट्रिम भइसकेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka