कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन आग्रह गरेका छन् ।
कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको सरकार कांग्रेसको मात्र नभनेर सय सिट पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।
‘मधेशका जाँदै गर्दा मैले साथीहरूलाई अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् भनेको छु,’ सभापति थापाले भने ।
उनले आगामी निवार्चनबाट कांग्रेसलाई बहुमतमा पुर्याउन सकिने जिकिर पनि गरे ।
‘त्यहाँ पुर्याउने हो यसपालि । मज्जाले जाने हो,’ थापाले भने, ‘सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’
सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्नेमा जोड दिए ।
‘मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर,’ उनले भने, ‘ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा–वडा, टोल–टोलमा संगठन गर्ने पार्टी हो यो ।’
सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने पनि बताए ।
‘हामी बदलिएर आएका छौँ । बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि,’ उनले भने, ‘यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।’
