नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा कुल ३४५ मत खसेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको उल्लेख्य सहभागिता देखिएको छ।
राष्ट्रिय सभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन्। यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले औपचारिक रूपमा मतदान नगर्ने निर्णय गरे पनि पार्टीका केही सदस्यले मतदान गरेका छन्।
राप्रपाका तीन जना प्रदेशसभा सदस्यसहित कुल पाँच जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएनन्। तर, राप्रपाबाट कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मतदान गरेका छन्। यस्तै, प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङले पनि मतदान गरेको निर्वाचन कार्यालयको सूचीमा उल्लेख छ।
मतदान नगर्नेहरूमा नेपाली कांग्रेसकी लिलाकुमारी राई, एमालेकी यशोदा कायस्थ तथा राप्रपाका सविना बजगाइँ, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा रहेका छन्। तर, प्रेमराज थाम्सुहाङले आफूले मतदान नगरेको दाबी गरेका छन्। उनको नाम भने मतदान गर्नेहरूको सूचीमा समावेश भएको छ।
यस विषयमा निर्वाचन कार्यालयले आफूहरू यसबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ।
