Premier Cables
Premier Steel

कोशी प्रदेश

राष्ट्रिय सभा सदस्य निर्वाचनः कोशी प्रदेशमा कति खस्यो मत ?

Calendar आइतबार, माघ ११, २०८२  | अपराह्न १:३० बजे

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब ८१ प्रतिशत मतदान सम्पन्न भएको छ।

राष्ट्रिय सभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जना सदस्यले मतदान गरिसकेका छन्। कोशी प्रदेशमा कुल ९२ जना प्रदेशसभा सदस्य र २६७ जना स्थानीय तहका प्रतिनिधि मतदाता रहेका छन्।

बिज्ञापन

कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी दुई पदका लागि चार जनाबीच प्रतिस्पर्धा भइरहेको छ। गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) उम्मेदवार रहेका छन् भने नेकपातर्फबाट दलित कोटामा खेम सुन्दास र महिला कोटामा नमिता न्यौपाने उम्मेदवार छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने संवैधानिक व्यवस्था छ। सोहीअनुसार यस पटक निर्वाचनमार्फत १८ जना नयाँ सदस्य राष्ट्रिय सभामा चयन हुनेछन्। कोशी प्रदेशबाट दलित कोटाका माओवादीका गोपी अछामी, अन्य समूहका एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन भइरहेको हो।

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ३६७ मतदाता रहे पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण केही जनप्रतिनिधिले राजीनामा दिएका छन्। प्रतिनिधिसभा उम्मेदवार बन्न तीन जना पालिका प्रमुख, दुई जना पालिका अध्यक्ष, एक जना पालिका उपाध्यक्ष र एक जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा राप्रपाका प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौला रहेका छन्, जो झापा–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। रंगोली नगरपालिकाका प्रमुख दिलीप बगडियाले एमालेबाट मोरङ–२ मा उम्मेदवारी दिएका छन्। ओखलढुंगा क्षेत्रबाट एमालेले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाएको छ।

यस्तै, नेकपाले इलाम–२ बाट सूर्योदय नगरपालिकाका रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेदवार बनाएको छ। उदयपुर लिम्चिबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई उदयपुर–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवारी दिएका छन्।

राजीनामापछि कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्य र २६७ जना स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष कायम छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ रहेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka