Premier Cables
Premier Steel

समाचार

निर्वाचन प्रहरी छनोट भोलिदेखि, करिब दुई लाख निवेदन पर्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नामा करिब दुई लाखको आवेदन परेको छ।

नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ)मार्फत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुलाइएकोमा १ लाख ९६ हजार ४ सय ७० जनाले दरखास्त दिएका छन्।

बिज्ञापन

आवेदन दिनेहरूमध्ये विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका २६ हजार ६ सय ३१ जना छन्। यस्तै, पूर्वप्रहरी ६ सय ७४, पूर्वसेना १ हजार ६ सय ७३, पूर्वसशस्त्र प्रहरी २ सय २८ र पूर्ववन रक्षक १ सय ५३ जनाले पनि आवेदन दिएका छन्। बाँकी १ लाख ६७ हजार ५७ जना सर्वसाधारण आवेदक हुन्।

अब आवेदन दिएकामध्येबाट छनोट प्रक्रिया अघि बढाइनेछ। सोमबार (माघ ५) देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयमार्फत छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।

२५ पुसदेखि १ माघसम्म निर्वाचन प्रहरी भर्नाको दरखास्त खुलाइएको थियो। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा आवेदन संख्या कम भएपछि ती जिल्लामा ३ माघसम्म म्याद थप गरिएको थियो। थपिएको अवधिसहित कुल १ लाख ९६ हजार ४ सय ७० जनाको आवेदन परेको गृह मन्त्रालयले जनाएको छ।

कति दिन खट्नु पर्छ, कति छ तलब?
गृह मन्त्रालयले ४० दिनको कार्यावधि तोकेर निर्वाचन प्रहरी भर्ना, परिचालन तथा खटनपटनसम्बन्धी कार्यविधि जारी गरेको छ। यसअघि मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाउँदा २ लाख ३२ हजारभन्दा बढी दरखास्त परेको थियो भने वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा करिब ३ लाख आवेदन परेका थिए। यस पटकको निर्वाचनमा आवेदन संख्या तुलनात्मक रूपमा कम देखिएको छ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सुरक्षामा करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा योजना स्वीकृत भइसकेको छ। नियमित सुरक्षाकर्मीबाहेक अपुग जनशक्ति निर्वाचन प्रहरीमार्फत ४० दिनका लागि पूर्ति गरिनेछ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको करिब ३४ हजार रुपैयाँ तलब पाउनेछन्।

साथै, जिल्ला दर निर्धारण समितिले तोकेअनुसार ४० दिनको रासन भत्ता, एक पटकका लागि ८४६ रुपैयाँ यातायात भत्ता, चार दिनका लागि १ हजार २ सय रुपैयाँ खाजा खर्च तथा जिल्लाअनुसारको पोसाक भत्ता उपलब्ध गराइनेछ। सबै भुक्तानी सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा जम्मा गरिनेछ।

के छन् मापदण्ड ?
कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकका हकवालालाई सरकारले तोकेअनुसार क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था छ। निर्वाचन रद्द वा स्थगित भए तालिममा रहेकै अवस्थामा भए पनि नियुक्ति स्वतः बदर हुने कार्यविधिमा उल्लेख छ।

निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ। सुरक्षा योजनाअनुसार भित्री घेरामा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ।

गृह मन्त्रालयले निर्वाचन प्रहरी छनोटका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति गठन गरिसकेको छ। भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै राजनीतिक दलको सदस्य नभएको तथा फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुषका लागि न्यूनतम ५ फिट उचाइ, ३१–३३ इन्च छाती र ५० केजी तौल तथा महिलाका लागि न्यूनतम ४ फिट १० इन्च उचाइ र ४२ केजी तौल हुनुपर्नेछ। यी मापदण्ड पूरा भएका आवेदकमध्येबाट छनोट प्रक्रिया टुंग्याउने तयारी दुवै सुरक्षा निकायले गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa