Premier Cables
Premier Steel

राजनीति

यस्तो छ कांग्रेस फुटको श्रृंखला, दुई अपजसमा देउवा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस तेस्रोपटक विभाजन भएको छ।

नेतृत्वको कार्यशैली र पार्टीभित्रको रुपान्तरणको मागलाई लिएर देखिएको मतभेदका कारण बुधबार कांग्रेसको इतिहासमा नयाँ अध्याय थपिएको हो।

यसअघि २०१० सालमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव तथा २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादले कांग्रेस विभाजन भएको थियो। पछिल्लो विभाजनमा पनि शेरबहादुर देउवा केन्द्रमा छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनागत र वैचारिक रुपान्तरणको माग अघि सारेका थिए। तर सभापति देउवा सो मागमा सहमत नहुँदा अन्ततः पार्टी विभाजन भएको हो।

विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन हुनु कांग्रेसको इतिहासमै पहिलो घटना हो। यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शमशेरले स्वयं महाधिवेशन बोलाएर बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरेका थिए। कांग्रेसको इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो, जुन महाधिवेशन प्रतिनिधिहरूको पहलमा सम्पन्न भएको हो।

प्रतिनिधिहरूको बलमा सम्पन्न विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको छ।

तर विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ। यससँगै कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ। अब कुन पक्ष आधिकारिक भन्ने विषयमा कानुनी विवादसमेत सुरु भएको छ।

२०१० सालको पहिलो विभाजन

राणाविरुद्धको संघर्षलाई अझ सशक्त बनाउने उद्देश्यले २००७ असोज १०–११ मा रौतहटको बैरगनियामा कांग्रेस सम्मेलन आयोजना गरिएको थियो। सशस्त्र क्रान्तिबाट मात्र परिवर्तन सम्भव हुने निष्कर्षसहित मातृकाप्रसाद कोइरालालाई क्रान्तिको सुप्रिम कमाण्डर र बीपी कोइराला तथा सुवर्ण शमशेरलाई क्रान्ति सञ्चालनको जिम्मा दिइएको थियो।

त्यसैबीच २००७ कार्तिक २१ मा राजा त्रिभुवन सपरिवार दिल्ली शरण गएपछि राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता भयो। २००७ फागुन ७ मा १०४ वर्षे राणा शासनको अन्त्य भई बहुदलीय प्रजातन्त्र स्थापना भयो।

बनेको सरकारमा कांग्रेसको नेतृत्व गरेका बीपी गृहमन्त्री बने पनि राणासँगको विवादका कारण छिट्टै राजीनामा दिए। पछि दरबार र भारतको समर्थनमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने तर बीपी समूहले उनको सरकारलाई सहयोग गरेन।

विवादकै बीच २००९ जेठ १०–१३ मा कांग्रेसको पाँचौं महाधिवेशन सम्पन्न भयो, जहाँ बीपी सभापतिमा निर्वाचित भए। त्यसपछि मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दिइए पनि नमानेपछि उनीसहितका नेतामाथि कारबाही गरियो। अन्ततः २०१० वैशाख १६ मा मातृकाको नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ गठन भएसँगै कांग्रेस पहिलोपटक विभाजित भयो।

२०५९ सालको विभाजन

२०५७ सालमा सम्पन्न दशौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः सभापति निर्वाचित भए। तर त्यसको एक वर्षभित्रै कांग्रेसभित्र कलह चर्कियो। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला माओवादी दबाबका कारण लगाइएको संकटकालको अवधि थप्ने विषयमा पार्टीभित्र तीव्र विवाद भयो।

पार्टीको सहमति नहुँदा पनि देउवाले संकटकाल थपेपछि विवाद चरमोत्कर्षमा पुग्यो। २०५९ असारको पहिलो साता देउवाले महाधिवेशन प्रतिनिधिहरूको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै आफूलाई सभापति घोषणा गरे।

यससँगै देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भई कांग्रेस दोस्रोपटक विभाजित भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka