Premier Cables
Premier Steel

राष्ट्रिय

दुर्गा प्रसाईंलाई बुद्धको तस्बिर दिदैं प्रधानमन्त्रीले भनिन्- चुनावबाट अनुमोदित हुनुहोस

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति, अमनचैन र दिगो लोकतन्त्र स्थापना गर्ने प्रमुख आधार निर्वाचन भएको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रसाईँसँग आग्रह गरिन्।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले अब देशले थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्था रहेको बताउँदै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न सुझाव दिइन्। साथै उनले जनतामाझ गएर आफ्ना मुद्दाको अनुमोदन गराउनु नै लोकतान्त्रिक अभ्यासको सही बाटो भएको स्पष्ट पारिन्।

हिन्दुराष्ट्रको माग अघि सार्दै आएका प्रसाईँलाई जनसमर्थनबाट आफ्ना मुद्दा स्थापित गर्नु नै लोकतान्त्रिक निकासको एकमात्र विकल्प भएको प्रधानमन्त्रीको भनाइ थियो। मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेकोले यस अवसरको उपयोग गर्न उनले आग्रह गरिन्।

“धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “सबै प्रकारका संशयलाई चिर्दै देश पूर्ण रूपमा निर्वाचनको वातावरणमा होमिएको छ। यस्तो समयमा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। यो देश मेरो पनि हो भन्ने भावना सबैमा हुनुपर्छ।”

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै शान्तिका प्रतीक भगवान् गौतम बुद्धको तस्वीर प्रसाईँलाई उपहारस्वरूप प्रदान गरिन्।

प्रधानमन्त्री कार्कीले सरकार न्यायका पक्षमा रहेको उल्लेख गर्दै भनिन्, “हामी सत्ताभोग वा सुखसयलका लागि यहाँ आएका होइनौँ। भ्रष्टाचार अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै परिणाम तुरुन्तै देखिन नसक्लान्, तर हामी आधार तयार गर्दै अघि बढिरहेका छौँ। तपाईँले उठाउनुभएका केही जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेको छ। यस विषयमा थप छलफल गर्दै जानेछौँ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka