नोट: यो समाचार ३ महिना अघिको हो
काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
काठमाडौं–४ का नियमित सिफारिससँगै सर्लाही, रोल्पा र धनकुटाबाट पनि थापाको उम्मेदवारीका लागि प्रस्ताव आएको हो। १५औं महाधिवेशनमा सभापति पदका दावेदार बनेका थापालाई अहिलेसम्म चारवटै क्षेत्रबाट सिफारिस मिलिसकेको छ।
थापा पछिल्ला तीनवटै निर्वाचन काठमाडौं–४ बाट लड्दै आएका छन्। पछिल्लो निर्वाचनमा उनले एमालेका राजन भट्टराईलाई पराजित गरेका थिए। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत पाएका थिए।
यसपालि पनि काठमाडौं–४ बाट थापाको एकल नाम नै सिफारिस भएको छ। सर्लाही–४ बाट भने थापा र वीरन्द्रप्रसाद सिंह दुवैको नाम प्रस्ताव गरिएको छ। गएको निर्वाचनमा यस क्षेत्रमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
रोल्पाबाट महामन्त्री थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीका नामहरू सिफारिस भएका छन्। यद्यपि, थापाले आफू काठमाडौं–४ बाट नै चुनाव लड्ने इच्छा पहिलेदेखि व्यक्त गर्दै आएका छन्।
