Hambiratnagar News Channel
विराटनगर । मोरङको बेलबारी नगरपालिकाले विद्युतीय नगरबस सेवा शुरु गरेको छ । एक समारोहबीच बेलबारी नगरपालिकाले औपचारिक रुपमा नगरबस सेवा शुरु गरेको हो ।
नगर प्रमुख दिल प्रसाद राई तथा उपप्रमुख नितु थापाले संयुक्त रूपमा बससेवा शुभारम्भ गरेका हुन ।
चार्जिङ स्टेसन निर्माणबा विलम्ब हुँदा बेलबारीले केही समय खरिद गरेपनि बस त्यसै राखेको थियो । तर, अब भने औपचारिक रुपमा सेवा शुरु भएको मेयर राईले बताएका छन् । नगरपालिकाले १ करोड ३१ लाख रुपैयाँको लागतमा विद्युतीय बस तथा चार्जिङ प्रणाली स्थापनासहित परियोजना अघि बढाइएको थियो ।
नगर प्रमुख राईले भने,‘‘केही समय प्रतीक्षा गर्नु परेपपिन अब भने सेवा शुरु गरेका छौं ।’’
नगरपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने, यात्रुहरूलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने तथा दैनिक आवत(जावतमा खर्च कम गराएर बचत अभिवृद्धि गर्नका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । विद्यार्थी तथा जेष्ठ नागरिकका लागि विशेष सुविधा व्यवस्था गरिएको छ ।
७० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक तथा परिचयपत्र बोकेका विद्यार्थीले दुवै रुटमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । बेलबारी बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्याम्पस आवतजावतका लागि मंगलबारदेखि पूर्ण रूपमा निःशुल्क बस सुविधा प्रदान गरिने प्रमुख राईले जानकारी दिएका छन् ।
नगरपालिकाले दुवै रुटका लागि भाडादर पनि सार्वजनिक गरेको छ । ‘बेलबारी भाउन्ने हुँदै बाहुनी बजार’ रुटमा भाडा १५ रुपैयाँदेखि ४० रुपैयाँसम्म रहनेछ भने ‘बेलबारी(लक्ष्मीमार्ग हुँदै कान्छीचोक’ रुटमा १० रुपैयाँदेखि ५० रुपैयाँसम्म निर्धारण गरिएको छ । नगरभित्रका छोटो दूरीका यात्रुहरूका लागि १० रुपैयाँको ‘लोकल’ भाडादर लागू हुनेछ ।
सेवा सुरु भएसँगै नगरपालिका यातायात व्यवस्थापन, सेवा गुणस्तर र भाडादर अनुगमनमा कडा निगरानी राख्ने तयारीमा छ ।
भविष्यमा माग र आवश्यकता अनुसार रुट विस्तार खुला राखिएको छ । बेलबारी नगरपालिकाद्वारा सुरु गरिएको नगर बस सेवाले स्थानीयबासीलाई राहत मिल्ने बताइएको छ । यसअघि सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि विद्युतीय नगरबस सेवा संचालन गरेको थियो ।
विराटनगरमा कहिले ?
विराटनगर महानगरपालिकामा निर्वाचित भएसँगै मेयर नागेश कोइरालाले महानगर क्षेत्रमा डिजेल नगर बस संचालन गर्ने घोषणा गरेका थिए ।
मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्की भाडाको सवारी साधनमा बसेर रुट परीक्षण समेत गरेका थिए । तर, कार्यकाल सकिन अब थोरै समय बाँकी रहँदा समेत विराटनगरमा नगर बस संचालनको टुंगो लागेको छैन । रुट परीक्षणको फोटो फेसबुकमार्फत सार्वजनिक गरिएको थियो ।

