काठमाडौं । उत्कृष्ट रेकर्ड–ब्रेकिङ ब्याटिङको बलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा १८.५ ओभरमै १६७ रनमा अलआउट भयो।
पोखराको इनिङ : भुर्तेल–रोसिङ्टनले प्रयास गरे पनि साथ नदियो
कप्तान कुशल भुर्तेलले ३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए भने
एडम रोसिङ्टनले २१ बलमा ३९ रन जोडे। १२–१ को अवस्थामा यी दुईले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए।
तर ६.६ ओभरमा रोसिङ्टन आउट भएपछि पोखराको लय विथोलियो।
डान डाउथवेट (२९) र अभिषेक तिवारी (११) मात्र दोहोरो अंकमा पुगे।
पहिलो संस्करणका स्टार जिम्मी निसम ‘गोल्डेन डक’ भए भने तीर्थराज दास पनि शून्यमै आउट भए।
विराटनगरबाट मर्चेन्ट डे लांगे, सन्दीप लामिछाने, शुभम रञ्जाने र प्रतिश जिसीले समान २–२ विकेट लिए। रञ्जानेले रोसिङ्टनको विकेट फालेपछि सन्दीपले लगातार निसम र तीर्थलाई पँहुचाउँदै खेलको टर्निङ प्वाइन्ट बनाइदिए।
इतिहासकै सबैभन्दा ठूलो स्कोर
टस हारेर पहिले ब्याटिङ आएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनायो, जुन एनपीएलमा बनेको हालसम्मकै सबैभन्दा ठूलो योगफल हो। यसअघि यो रेकर्ड लुम्बिनी लायन्सको नाममा रहेको १९१ रन थियो।
ओपनर लोकेश बमले ४८ बलमा ७२ रन (१ चौका, ७ छक्का) बनाए भने
न्युजिल्यान्डका पूर्व स्टार मार्टिन गप्टिलले ३५ बलमा ६१ रन (३ चौका, ५ छक्का) जोडे।
यी दुईले १४–१ को अवस्थामा दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै टिमलाई ठुलो स्कोरतर्फ डोहोर्याए। यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो।
अन्तिमतिर शुभम रञ्जानेको १६ बलमा ३८ रन र
बसिर अहमेदको २३ रन, तथा अविजित नारायण जोशीको ११ रनले स्कोर थप उकास्यो।
पोखराको कमजोर बलिङ
पोखराका बलरमध्ये म्याट टेलरले २ विकेट लिए।
आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एक–एक विकेट लिए।
६ जना बलर प्रयोग गरे पनि कसैले पनि १० भन्दा कम इकोनोमीमा बलिङ गर्न सकेनन्।
आजको अन्य खेल
यसअघि भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्यो।
भोलि (बुधबार) काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
