Premier Cables
Premier Steel

राजनीति

दल दर्ताको बाढी, हालसम्म १२५ पुगे

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको भए पनि निर्वाचनको सुनिश्चितता अझै छैन। तर यसबीच नयाँ मतदाता थपिने र राजनीतिक दल दर्ता हुने क्रम तीव्र रूपमा जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा समावेश भइसकेका छन्। निर्वाचन घोषणापछि २१ नयाँ दलले आयोगमा दर्ताका लागि आवेदन दिएका छन्, जसमा केहीले प्रमाणपत्र पाइसकेका छन् भने केहीको प्रक्रिया जारी छ। केही दल विभाजन भएर नयाँ दल बनेका छन् भने केही दल एकीकरणको तयारीमा छन्।

बिज्ञापन

हालसम्म १२५ दल दर्ता

निर्वाचन आयोगमा हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन घोषणापछि दर्ता भएका नयाँ दलमध्ये कविर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिन्हसहित नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ। यसैबीच वामदेव गौतमको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको आयोगले जनाएको छ।

यस्तै, हर्क साम्पाङको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी नयाँ दलका रूपमा दर्ता भएका छन्। दल विभाजनपछि राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी पनि नयाँ दलका रूपमा मान्यता पाएका छन्।

नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दल दर्ताका लागि दलको विधान, नियमावली, घोषणा–पत्र, झण्डा, लोगो, छाप, निर्वाचन चिन्ह, मुख्य कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति तथा पदाधिकारीको विवरण, साथै आय–व्यय स्रोतको विवरण आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि सबै पुराना र नयाँ दलले पुनः निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्नेछ। आयोगले असोज २० गते स्वीकृत गरेको कार्यतालिकाअनुसार आगामी कात्तिक २८ गते सूचना प्रकाशन गर्नेछ र मंसिर १ देखि १० गतेसम्म दर्ताको समय दिनेछ। यस अवधिमा दर्ता भएका दलले मात्र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिन पाउने छन्।

मतदाता संख्या १ करोड ८१ लाख नाघ्यो

आगामी निर्वाचनलाई लक्ष्य गरी आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन र अद्यावधिक अभियानमा व्यापक सहभागिता देखिएको छ। बुधबारसम्म थपिएका २ लाख ५० हजार ५३२ नयाँ मतदातासहित कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

तीमध्ये ८९ लाख १६ हजार ५०२ जना महिला मतदाता छन्। आयोगका सातै प्रदेश र ७० जिल्ला निर्वाचन कार्यालयहरूबाट बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म मतदाता नामावली अद्यावधिक भइरहेको छ।

गत असोज १० गतेदेखि सुरु गरिएको यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ। प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई लोकतान्त्रिक अधिकारको प्रयोगका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी छन्। निर्वाचन कार्यालयहरूका अनुसार पछिल्ला दिनमा नाम दर्ता गर्ने नागरिकको उत्साह उल्लेखनीय रूपमा बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka