नयाँ दिल्ली । भारत सरकारले दिल्लीको लालकिल्ला नजिकै भएको कार विस्फोटलाई ‘आतंकवादी हमला’ भएको घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको कडा शब्दमा निन्दा गर्ने प्रस्ताव पारितसमेत गरेको छ।
बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, ‘१० नोभेम्बरमा लालकिल्ला नजिकै देशविरोधी तत्वहरूले कार बम विस्फोट गराई आतंकवादी घटनालाई अन्जाम दिए। घटनामा मारिएका परिवारप्रति सरकार गहिरो संवेदना व्यक्त गर्दछ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछ,’ सञ्चारकर्मीसँग उनले भने। सरकारले सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले गरेको उद्धार र उपचारमा देखाएको सक्रियतालाई प्रशंसा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमार्फत स्थितिको समीक्षा गरेपछि मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए। मन्त्री वैष्णवले थपे, ‘सरकार निर्देश गर्छ कि यो घटनाको छानबिन अत्यन्तै तीव्रता र व्यावसायिक ढङ्गले अघि बढाइयोस्, ताकि अपराधी, सहयोगी र तिनका प्रायोजकहरूलाई शीघ्र न्यायको कठघरामा उभ्याउन सकियोस्।’
सरकारले यसलाई कायरता र घृणित कृत्य ठहर गर्दै दोषीको पहिचान र अनुसन्धानमा कुनै ढिलाइ नहुने स्पष्ट पारेको छ। भारतको आतंकवादप्रति शून्य सहनशीलताको नीतिप्रति अडिग रहेको जनाउँदै सरकारले विश्वका विभिन्न देशहरूले देखाएको प्रतिवद्धताको प्रशंसा गरेको छ।
प्रधानमन्त्री मोदी घटनाका घाइतेहरूलाई भेट्न लोकनायक जयप्रकाश नारायण अस्पताल पुगेका थिए। उनले लालकिल्ला कार विस्फोटमा घाइतेहरूसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। वरिष्ठ चिकित्सकहरूले प्रधानमन्त्रीलाई उपचारको अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
सोमबार साँझ भएको उक्त विस्फोटमा १२ जनाको मृत्यु भएको छ। पोस्टमार्टम रिपोर्टअनुसार, पीडितहरूलाई टाउको र छातीमा गम्भीर चोट देखिएको थियो। विस्फोटले उनीहरूको फोक्सो, कानको जाली र आन्द्राहरू पनि फाटेका थिए। फरेन्सिक विज्ञहरूका अनुसार पीडितका कपडामा कुनै प्रकारका धातुको टुक्रा भेटिएको थिएन।
यस घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रिय अनुसन्धान एजेन्सीले विशेष टोली गठन गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार, यो हमला हालै भारतीय सुरक्षा निकायहरूले पत्ता लगाएको जैश-ए-मोहम्मद समूहसँग सम्बन्धित छ। विस्फोटमा प्रयोग गरिएको कार हरियाणाको गुरुग्राममा एचआर२६ नम्बरमा दर्ता गरिएको थियो। उक्त कारका पहिलो मालिक मोहम्मद सलमान रहेको खुलेको छ।
कार सातपटकसम्म किनबेच भएको खुलेको छ। जुन कार पछिल्लोपटक डा. उमर नबी नामक व्यक्तिसँग पुगेको बताइएको छ। डा. उमर कश्मीरका चिकित्सक हुन्। उनी जैश-ए-मोहम्मदसँग सम्बन्धित रहेको आशंका गरिएको छ। घटनाको दिन नै जम्मु-कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीको संयुक्त कारबाहीमा हरियाणाको फरीदाबादस्थित आवासीय क्षेत्रबाट करिब २,९०० केजी शंकास्पद विस्फोटक (अमोनियम नाइट्रेट), एके ४७ र अन्य हतियार बरामद गरिएको छ। बरामद सामग्रीमा ३६० केजी अमोनियम नाइट्रेट, एके ४७ र बेरेट्टा पिस्तोल समेत भएको अधिकारीहरूले बताएका छन्।
उक्त बरामदगी उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ। कश्मीरका राथर सहारनपुरमा चिकित्सकको रूपमा कार्यरत थिए। उनीबाट प्राप्त जानकारीका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई पनि पक्राउ गरिएको छ। शाहीनलाई जैश-ए-मोहम्मदको महिला विभागको भारत प्रमुखका रूपमा परिचालित गराइएको आशंका गरिएको छ।
