Premier Cables
Premier Steel

विराटनगर

तीन महिनामा मोरङ कारागारमा पाँच कैदीबन्दीको मृत्यु

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | अपराह्न १२:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ कारागारमा पछिल्ला तीन महिनाभित्र उपचारका क्रममा पाँचजना कैदीबन्दीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार साउन महिनापछि भदौ ११ गतेदेखि अहिलेसम्म स्वास्थ्य समस्या देखिएका कैदीहरूलाई अस्पताल पुर्याउँदा ज्यान गुमाएका हुन्।

मोरङ कारागारका जेलर गौरव ढुंगेलले कैदीहरूको स्वास्थ्यमा समस्या देखिएलगत्तै अस्पताल पुर्याउने गरिएको बताए। तर पछिल्लो समय रोगको जटिलता र कैदी संख्याको भीडभाडका कारण उपचारमा चुनौती बढेको उनले उल्लेख गरे।

बिज्ञापन

सबैभन्दा पछिल्लो मृत्यु मिक्लाजुङ गाउँपालिका–५ का ४२ वर्षीय ज्ञानबहादुर राईको भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकहरूले उनको मुटु, फोक्सो र मृगौलामा गम्भीर समस्या देखिएको जनाएका छन्। राईको आइतबार अपराह्न साढे ३ बजे उपचारकै क्रममा मृत्यु भएको जेलर ढुंगेलले जानकारी दिए।

ढुंगेलका अनुसार राईलाई यसअघि पनि स्वास्थ्य समस्या देखिँदा ७–८ पटकसम्म अस्पताल पुर्याइएको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजायसहित २०८० साल चैत ६ गतेदेखि कारागारमा रहेका थिए।

कारागार प्रशासनका अनुसार भदौयता मृत्यु हुने पाँचमध्ये चार पुरुष र एक महिला रहेका छन्। सबैको मृत्यु अस्पतालमै उपचार चलिरहेको समयमा भएको हो।

तर, मृतकका आफन्तहरूले कारागारभित्रको जीवनस्तर अत्यन्तै दयनीय रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार बस्ने र सुत्ने ठाउँको अभाव, स्वच्छ पानी र सरसफाइको कमीका कारण कैदीबन्दीहरू लगातार रोगको जोखिममा परिरहेका छन्।

हाल मोरङ कारागारमा कुल १,१८३ जना कैदीबन्दी छन्—जसमध्ये १,०७२ पुरुष, ११० महिला र एक नाबालिग छन्। क्षमताभन्दा धेरै कैदी रहँदा स्वास्थ्य समस्या व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले पनि कारागारभित्रको स्वास्थ्य सेवा र सरसफाइ अवस्थाप्रति चासो व्यक्त गर्दै सुधारका उपायबारे छलफल सुरु गर्ने तयारी गरेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka