जनकपुरधाम । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनल नेतृत्वको सरकार गठन भएको २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री सोनलले शनिबार राजीनामा दिएका हुन् ।
आज नै विश्वासको मत लिने कार्यसूची रहेको थियो, तर नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक विवादका कारण सरकार ढल्न पुगेको हो । यही अन्तरद्वन्द्वकै परिणामस्वरूप सोनलको सरकार विश्वासको मत नपाई अल्पमतमा पुगेको बताइएको छ ।
गत असोज २९ गते पाँच दलीय गठबन्धनको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री बनेका थिए । शनिबारको विश्वास मतका लागि सत्तारूढ पक्ष र एक सिटे नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित उनको पक्षमा आवश्यक ५४ मत पुग्ने अनुमान गरिएको थियो ।
तर, माओवादी केन्द्रका युवा सांसद रहबर अंसारीले सभामा समय माग्दै विद्रोह गरे । उनले सभामुख रामचन्द्र मण्डलबाट ३ मिनेटको समय पाएका थिए । उक्त समयमा अंसारीले सरकार “काठमाडौँबाट बनाइएको” भन्दै त्यसको समर्थन नगर्ने घोषणा गरे । सभामुखले माइक बन्द गरेपछि उनले आफ्नो अनुहारमा आफैंले ल्याएको मोसो दले र सरकार तथा भ्रष्टाचार विरुद्ध नारा लगाउँदै बोलिरहे ।
उनकै दलकी सांसद माला कर्णले पनि सदनमै उठेर मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने घोषणा गरिन् । त्यसपछि मत विभाजनको तयारी भइरहेको बेला नेकपा एमालेका नेता सरोज कुमार यादव र जसपा नेपालकी नेतृ सुरिता सिंहबीच वाक्युद्ध भयो । त्यसका कारण सभामुखले मत विभाजन प्रक्रिया केही समयका लागि स्थगित गरे ।
मुख्यमन्त्री सोनलले त्यसपछि सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्दै अंसारी र कर्णलाई मनाउने प्रयास गरे, तर अन्ततः असफल भए । साँझ साढे ५ बजे सभामुखले पुनः बैठक अगाडि बढाए, तर त्यसबेला सदनमा प्रतिपक्ष एमाले र कांग्रेसका सांसद मात्र उपस्थित थिए । यससँगै सोनल नेतृत्वको सरकार औपचारिक रूपमा पतन भएको घोषणा गरिएको छ ।
