






खोटाङ । अधिकांश योजना सम्पन्न भएपछि तत्कालै उद्घाटन गरिने चलन छ। तर, करिब १३ करोड लागतमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक भने लामो समयदेखि उद्घाटनको प्रतीक्षामा छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाको पञ्चदोबाटोमा निर्माण गरिएको उक्त सालिक अझै औपचारिक रूपमा उद्घाटन हुन सकेको छैन। स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायको चासोको अभावप्रति गुनासो गरेका छन्।
स्थानीय धनबहादुर श्रेष्ठ भन्छन्, “पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सालिक निर्माण गरिएको हो, तर उद्घाटन नै नहुने अवस्था देखिएको छ।”
यसअघि, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत जेठ १८ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। तर, किरात राई यायोक्खाको आपत्तिका कारण कार्यक्रम स्थगित गरिएको हो।
यायोक्खाको असहमति
किरात राई यायोक्खाको केन्द्रीय समितिले “पहिचान विरोधी व्यक्तिबाट सालिक उद्घाटन गराउन नमिल्ने” भन्दै नगरपालिकालाई औपचारिक पत्र लेखेको थियो। त्यसपछि उद्घाटन स्थगित गरिएको हो।
यायोक्खाको आपत्तिपछि नगर उपप्रमुख विसन राई, वडा नं १४ का अध्यक्ष दिनेश राई र यायोक्खाका केन्द्रीय महासचिव भीम राईबीच छलफल भए पनि सहमति हुन सकेको छैन।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, पछिल्लो समयमा सालिकको उद्घाटनबारे चर्चा नै बन्द भएको छ। तर, आगामी असोजभित्र उद्घाटन गर्ने योजना बनाइएको उनले साउन ३० गतेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
सालिक निर्माणको लागि उमा तुवाचुङ अन्सुली जेभी कम्पनीले २०७८ असार २८ गते सम्झौता गरेको थियो। १८ महिनाभित्र सक्ने शर्तमा गरिएको सम्झौता समयमै पूरा हुन नसकेपछि पटक–पटक म्याद थप गर्दै २०८२ असोज १८ गतेसम्मको समय दिइएको हो।
नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईका अनुसार, हालसम्म १० करोड १० लाख ३८ हजार ३४३ रुपैयाँ भुक्तानी भइसकेको छ। २ करोड ८९ लाख ७८ हजार १२५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कोशी प्रदेशले चालु आर्थिक वर्षमा २ करोड ८५ लाख रुपैयाँ पठाइसकेको र बाँकी रकम छिट्टै भुक्तानी गरिने उनले जानकारी दिए।
उपप्रमुख विसन राईका अनुसार, सालिक निर्माण पूर्ण रूपमा सम्पन्न नभएकाले र बजेट पनि ढिलै आएको कारणले उद्घाटनमा ढिलाइ भएको हो। अहिले भने बजेट आइसकेकाले निकासा भएलगत्तै उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए।