






विराटनगर । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत यात्रुवाहक बस र विङ्गर माइक्रो ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
सोमबार बिहान ७:१५ बजे भएको दुर्घटनामा सप्तरी मधावेका ३५ वर्षीय शंकर मण्डल, सप्तरी तिरहुतकी ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोईठीका ६८ वर्षीय जिवछ महात्मा, सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर–१० का ४० वर्षीय अशोक यादवको ज्यान गएको हो।
प्रहरीका अनुसार शंकर, लक्ष्मण र अशोकको मृत्यु ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा, र जिवछको मृत्यु विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको हो।
दुर्घटनामा २८ जना घाइते भएका मध्ये ५ जनाको मृत्यु भएको र ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। बाँकी २० जना घाइतेको उपचार ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र गोल्डेन अस्पताल विराटनगरमा भइरहेको छ।
मृतक सबै विङ्गर माइक्रोमा सवार थिए। दुर्घटना झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र सप्तरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो आपसमा ठोक्किँदा भएको हो।
बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ।