Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

आज जनै पूर्णिमा : रक्षाबन्धन र क्वाँटीको पर्व

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन २४, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले मन्त्रिएको यज्ञोपवीत र डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा हुने धार्मिक विश्वास छ।

बिज्ञापन

सत्ययुगमा दानवले लखेटेका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरेर बलशाली दानवराज बलीलाई बाँधेका थिए। त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो’ भन्दै डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको छ।

यसैले रक्षाबन्धन बाँध्ने बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्दै रक्षासूत्र, रक्षाबन्धन वा डोरो बाँध्ने वैदिक परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष र धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई यो जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन वा डोरो वैदिक परम्पराको मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन्।

तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजको दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने शास्त्रीय विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरेर एक छाकमात्र खाएर चोखोनीतो बसेर व्रत बसिन्छ। व्रत बसेका तागाधारीले पूर्णिमाको दिन बिहान पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गएर गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा र तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत वा जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो पनि भनिन्छ। रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायक, वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्छ।

क्वाँटीको परम्परा
जनै पूर्णिमाको दिन एघार थरिका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाममा खेतीपाती गर्दा शरीरमा लागेको चिसो निकालेर तापको सञ्चार हुने धार्मिक र आयुर्वेद शास्त्रीय मान्यता छ।

विभिन्न गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। यसले चिसोले लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले बताए।

तराईमा राखी बाँधिँदै
नेपालको तराईमा आजको दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसले दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्ने सामाजिक मान्यता छ। यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्दै छ।

काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानदेखि मेला लाग्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka